कैलाली- कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक चालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
अविरल वर्षापछि आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका बर्दगोरिया गाउँपालिका–२ निवासी ३९ वर्षीय लौटन थारु सवार से ४ प ८६७९ नम्बरको मोटरसाइकल बगाएको थियो।
बिहीबार राति इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक मीरा खड्काको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट करिब १५० मिटर तल खोलाबाट बगिरहेका थारुलाई तत्काल उद्धार गरेको हो।
उद्धार गरिएका थारुको ढाड र दाहिने कुहिनामा सामान्य चोट लागेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उपचार तथा उद्धारपछि उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।