शुक्रबार, साउन २२, २०८३

रियल म्याड्रिडसँग भिनिसियसको थप ६ बर्षको सम्झौता

 |  शुक्रबार, साउन २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०८३

काठमाडौं- ब्राजिलका विङ्गर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल म्याड्रिडसँग थप छ वर्षको नयाँ सम्झौता गरेका छन्। नयाँ सम्झौताअनुसार उनी अब सन् २०३२ जुन ३० सम्म रियल म्याड्रिडमै रहने छन्।

२६ वर्षीय भिनिसियसको अघिल्लो सम्झौताको अवधि सकिन १२ महिना मात्र बाँकी रहेको थियो। पछिल्ला केही सातायता उनीप्रति इङ्ग्लिस क्लब आर्सनलले पनि चासो देखाएको थियो। तर रियल म्याड्रिडले नयाँ सम्झौताको औपचारिक घोषणा गरेको छ।

सम्झौतापछि भिनिसियसले सामाजिक सञ्जालमा लेखेका छन्- 'बेर्नाबेउमा बिताएका आठ वर्ष निकै छोटा लागे। अब थप छ वर्ष, त्यसपछि सधैंका लागि।'

रियल म्याड्रिडले पनि भिनिसियसलाई क्लबको इतिहासकै सबैभन्दा सफल अवधिका महत्वपूर्ण खेलाडीमध्ये एक भएको जनाएको छ। भिनिसियस सन् २०१८ मा ब्राजिलको फ्लामेङ्गोबाट रियल म्याड्रिड आएका थिए। पछिल्लो १८ महिनादेखि नयाँ सम्झौताबारे दुवै पक्षबीच वार्ता चलिरहेको थियो। हालसम्म उनले रियलका लागि सबै प्रतियोगितामा ३७५ खेलमा १२८ गोल गरेका छन्। ब्राजिलका लागि भने ५४ खेलमा १३ गोल गरेका छन्।

उनको योगदानमा रियल म्याड्रिडले दुई पटक युरोपेली च्याम्पियन्स लिग, तीन पटक स्पेनिस ला लिगा र एक पटक कोपा डेल रे उपाधि जितेको छ।

यता, भिनिसियसले सम्झौता नवीकरण नगरेको भए आर्सनलले उनलाई भित्र्याउने प्रयास तीव्र बनाउने तयारी गरेको बताइएको थियो। तर नयाँ सम्झौतासँगै उनको स्थानान्तरणको सम्भावना तत्कालका लागि समाप्त भएको छ।

यसैबीच, रियल म्याड्रिडले आइभरी कोस्टका विङ्गर यान डियोमान्डेलाई आरबी लाइपजिगबाट करिब १४ करोड युरोमा अनुबन्ध गरेको पनि घोषणा गरेको छ। नयाँ मुख्य प्रशिक्षक जोसे मोरिन्होको नेतृत्वमा डियोमान्डे रियलको यस सिजनमा रियल भित्रिने छैटौं नयाँ खेलाडी बनेका छन्।

प्रकाशित: Aug 07, 2026| 09:48 शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्