काठमाडौं। पाकिस्तानविरुद्धको पहिलो दुई टेस्ट खेलका लागि इङल्याण्डले १६ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा ब्याटर ओली पोप र ड्यान लरेन्सलाई पुनः समावेश गरिएको छ।
तीन खेलको टेस्ट सिरिज कप्तान बेन स्टोक्सको संन्यास र प्रशिक्षक ब्रेन्डन म्याकुलमको बर्खास्तीपछि इङल्याण्डको पहिलो टेस्ट सिरिज हुनेछ। जो रुटले जुलाईमा पुनः कप्तानी पाएपछि पहिलोपटक टोलीको नेतृत्व गर्नेछन् भने मार्कस ट्रेस्कोथिकले अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्।
घाइते भएका ज्याकोब बेथेलले पूरै सिरिज गुमाउने भएका छन्। उनको स्थानमा जोर्डन कक्सले तेस्रो नम्बरमा ब्याटिङ गर्ने मौका पाउनेछन्।
इङल्याण्डको टोलीमा जो रुट (कप्तान), जोफ्रा आर्चर, गस एट्किन्सन, शोएब बशिर, ह्यारी ब्रुक, ब्राइडन कार्स, साम कुक, जोर्डन कक्स, बेन डकेट, म्याथ्यु फिसर, एमिलियो गे, ड्यान लरेन्स, ओली पोप, ओली रोबिन्सन, जेमी स्मिथ र जोस टङ रहेका छन्।
लरेन्सले घरेलु काउन्टी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि टोलीमा स्थान बनाएका हुन्। उनले यस सिजन १३ खेलमा ७८८ रन बनाएका छन्, जसमा पाँच शतक समावेश छन्। उनी मध्यक्रममा छैटौँ नम्बरमा खेल्ने सम्भावना छ। पूर्व उपकप्तान पोप खराब लयका कारण पछिल्लो समय टोलीबाट बाहिरिएका थिए। उनले पनि सरेबाट खेल्दै ५१० रन बनाएका छन्। तर बेथेलको अनुपस्थितिमा उनले स्थान पक्का गर्न कक्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
इङल्याण्डका छनोटकर्ता मार्कस नर्थले टोलीमा युवा प्रतिभा र अनुभवी खेलाडीको सन्तुलन मिलाइएको बताएका छन्। उनले लरेन्सले उत्कृष्ट सिजन खेलेको र कक्सलाई तेस्रो नम्बरमा मौका दिइने जानकारी दिएका छन्।
इङल्याण्ड र पाकिस्तानबीचको पहिलो टेस्ट खेल १९ अगस्टदेखि हेडिङ्लेमा सुरु हुनेछ।