गण्डकी- मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुछ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलबाट सम्पर्क विहीन तीन युवकलाई सकुशल फेला पारिएको छ।
पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले भने, 'तीनै जना युवक सकुशल भेटिनुभएको छ, उद्धार भइरहेको छ।'
बुधबार बिहान ८:०० बजेदेखि उनीहरुको मोबाइल बन्द भएपछि घरपरिवारले खोजीका लागि प्रहरी समक्ष अनुरोध गरेका थिए। जङ्गलमा बाटो बिराएर अलपत्र परेपछि उनीहरुको खोजीमा नेपाली सेना, सशत्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरिएको थियो।
उनीहरुलाई मोदी खोलाको पारिपट्टि छुमरुङवेशीमा भेटिएको घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिएका छन्।