काठमाडौं- नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले दिएको काँग्रेस विवाद बारेको पुनरावलोकन निवदेन बारे निर्णय लिन सर्वोच्च अदालतले पूर्ण इजलास गठन गरेको छ।
निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो।
यस इजलासले सुनुवाई नगरी विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको यसअघिको निर्णयविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि अध्ययन गरेर पुनरावलोकन हुने नहुने निर्णय गर्ने छ।
कांग्रेस पूर्व सभापति देउवा र पूरानो कार्यसमितिको तर्फबाट तत्कालीन कार्यबाहक सभापति खड्काले सर्वोच्चमा मुद्धा पुनरावलोकनको छुट्टाछुट्टै निवेदन दिएका थिए।
आजको इजलासले निस्सा हुने आदेश गरेमा तीन सदस्यिय पूर्ण इजलासले फेरि शुरुदेखि मुद्दाको सुनुवाई गर्नेछ भने निस्सा नहुने आदेश गरेमा काँग्रेस विवाद बारे सर्वोच्चले यसअघि गरेको निर्णय अन्तिम हुनेछ।
यसअघि गत बैशाख ४ गते सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो। न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले देउवा र खड्काको रिटलाई खारेज गर्दै विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो।