वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ई–रिक्सामा सवार ९ जना घाइते भएका छन्।
बुधबार राति करिब ८ बजे पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आइरहेको आरजे १४ जिई ८७१० नम्बरको ग्यास ट्याङ्करले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको छ। सबै घाइतेको उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले फरार भएका ग्यास ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने चालक भारतको मुजफ्फरपुर जिल्लाको साहेबगञ्ज निवासी करिब ४८ वर्षीय धनेश्वर राय रहेको प्रहरीले जनाएको छ।
स्वास्थ्य परीक्षणका क्रममा चालकले मादक पदार्थ सेवन गरेको समेत पुष्टि भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।