बिहीबार, साउन २१, २०८३

एशियाडमा नेपालले २२ खेलमा भाग लिने, १३६ खेलाडी सहभागी हुँदै

 |  बिहीबार, साउन २१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०८३

काठमाडौं- जापानको आइची-नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुद (एशियाड २०२६) मा नेपालले २२ खेल विधामा सहभागिता जनाउने भएको छ।

राष्ट्रिय खेलकुद परिषदका अनुसार प्रतियोगितामा नेपालबाट कुल १३६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी हुने खेलाडीमध्ये ५६ जना महिला र ८० जना पुरुष रहेका छन्। खेलाडीबाहेक नेपालबाट ३२ जना प्रशिक्षक पनि प्रतियोगितामा सहभागी हुनेछन्। यससँगै एशियाड २०२६ का लागि नेपालको कुल टोली संख्या १६८ जना पुग्नेछ। 

परिषदका अनुसार नेपालले सबैभन्दा धेरै खेलाडी कबड्डीमा सहभागी गराउने भएको छ। कबड्डीमा १२ महिला र १२ पुरुष गरी २४ खेलाडी तथा ४ प्रशिक्षकसहित २८ जनाको टोली रहनेछ। त्यस्तै क्रिकेटमा १५ पुरुष खेलाडी र २ प्रशिक्षक गरी १७ जनाको टोली सहभागी हुनेछ। भलिबलमा १२ महिला खेलाडी र २ प्रशिक्षक गरी १४ जनाको सहभागिता रहनेछ।

उसुमा ३ महिला र ८ पुरुष गरी ११ खेलाडी तथा २ प्रशिक्षक सहभागी हुनेछन् भने करातेमा ५ महिला र ३ पुरुष गरी ८ खेलाडी तथा २ प्रशिक्षक रहनेछन्। बक्सिङमा ३ महिला र ४ पुरुष गरी ७ खेलाडी तथा २ प्रशिक्षक सहभागी हुनेछन्। जुडोमा ३ महिला र ३ पुरुष गरी ६ खेलाडी तथा २ प्रशिक्षक, एथलेटिक्समा २ महिला र ४ पुरुष गरी ६ खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन्। टेबल टेनिसमा पनि ३ महिला र ३ पुरुष गरी ६ खेलाडी तथा १ प्रशिक्षक रहनेछन्।

त्यस्तै कुस्तीमा २ महिला र ४ पुरुष गरी ६ खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन्। टेनिसमा २ महिला र ३ पुरुष गरी ५ खेलाडी तथा १ प्रशिक्षक, पौडीमा २ महिला र ३ पुरुष गरी ५ खेलाडी तथा १ प्रशिक्षक रहनेछन्। ब्याडमिन्टनमा २ महिला र २ पुरुष गरी ४ खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन्। गल्फ र सफ्ट टेनिसमा समान रूपमा १ महिला र ३ पुरुष गरी ४ खेलाडी तथा १ प्रशिक्षक रहनेछन्। ताइक्वान्दोमा २ पुरुष खेलाडी र २ प्रशिक्षक सहभागी हुनेछन्। तीरन्दाजीमा १ महिला र १ पुरुष गरी २ खेलाडी तथा १ प्रशिक्षक रहनेछन्।

त्यस्तै क्यानो स्लालोममा २ पुरुष खेलाडी र १ प्रशिक्षक, साइक्लिङमा १ महिला र १ पुरुष गरी २ खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन्। स्केटबोर्डमा २ पुरुष खेलाडी र १ प्रशिक्षक रहनेछन्। यसैगरी स्क्वासमा १ महिला र १ पुरुष गरी २ खेलाडी तथा १ प्रशिक्षक र नृत्य तथा खेलकुद विधामा १ पुरुष खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन्। जापानको आइची-नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुदमा नेपालले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दै पदक जित्ने लक्ष्यसहित सहभागिता जनाउने तयारी गरेको छ।

प्रकाशित: Aug 06, 2026| 07:44 बिहीबार, साउन २१, २०८३
प्रतिक्रिया दिनुहोस्