काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले काठमाडौंको कलंकी चोकमा नै नयाँ आउटलेट सोमबारदेखि सञ्चालनमा ल्याएको छ।
उक्त आउटलेटको उद्घाटन डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले गरेका हुन्। ठूलो जनघनत्व रहेको कलंकी चोकमा संचालनमा ल्याइएको नयाँ आउटलेट उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिएको महाप्रबन्धक डा. पाण्डेले बताए।
उनका अनुसार साउन महिनाभरि नयाँ अवधारणा र नयाँ मोडेलका साथ सेवा प्रवाह गरिनेछ। उनले डिडिसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको उल्लेख गर्दै मागलाई सहज रूपमा पूरा गर्न काठमाडौं उपत्यकाभित्र ३० भन्दा बढी स्थानमा सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।
साथै निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख सहरमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए। कलंकीको नयाँ आउटलेटका संचालक सरोज अधिकारी हुन्। उनले आँफु कृषक परिवारमा जन्मिएको र सानैदेखिको यो क्षेत्रमा काम गर्ने हुटहुटी अहिले आएर पुरा भएको बताए।
संचालक अधिकारीले कलंकी चोकमा नै रहेका कारण नयाँ आउटलेटले छिट्टै आम उपभोक्तामाझ चर्चा पाउने पनि अपेक्षा राखेका छन्। डिडिसीले गुणस्तरीय उत्पादनलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ।