काठमाडौं । नक्कली कागजातका आधारमा तिब्बती शरणार्थीलाई जर्मन पठाउन खोजेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपालबाट शरणार्थीलाई तेस्रो मुलुक जान अनुमति दिने कार्यमा प्रत्यक्ष संलग्नता देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई कागेश्वरी मनहराबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा बुझाएको छ।
अदालतमा पेस गरिएका भट्टराईको बयान पश्चात् अदालतले थुनछेक आदेश गर्नेछ। सीआईबीका अनुसार यो घटना करिब १७ वर्षअघि (२०६५ देखि २०६६ साल) को हो, जतिबेला भट्टराई परराष्ट्र मन्त्रालयको राहदानी शाखामा कार्यरत थिए।
त्यसबेला उनले पाँच सय थान ट्राभल डकुमेन्ट बुझेका थिए र तिनै डकुमेन्टहरू दुरुपयोग गरी तिब्बती शरणार्थीहरूलाई नक्कली शरणार्थी बनाएर जर्मन पठाउन खोजिएको भेटिएको थियो।
काठमाडौंस्थित जर्मन दूतावासले २८ असार २०६८ मा सीआईबीलाई पत्र पठाएर शंकास्पद व्यक्तिहरूका बारेमा अनुसन्धान गर्न आग्रह गरेपछि यो रहस्य खुलेको थियो।
सीआईबीको आरोपपत्रमा ट्राभल डकुमेन्ट प्राप्त गर्नेहरूले प्रतिव्यक्ति चार लाख रुपैयाँ र विमानस्थलमा ‘डिपार्चर’ सुनिश्चितताका लागि थप चार लाख रुपैयाँ खर्च गरेको उल्लेख छ।