काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा विश्वास, सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको छ। चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै सुरक्षित, व्यवस्थित र विश्वसनीय स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि आवश्यक पहललाई तीव्र पारिएको मन्त्रालयले जनाएको छ।
नारायणी अस्पतालमा भएको पछिल्लो घटनापछि मन्त्रालयले उक्त घटनालाई केवल कानुनी कारबाहीमा सीमित नराखी भविष्यमा यस्ता घटना पुनः दोहोरिन नदिन केन्द्रित भएको छ।
मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई समयानुकूल बनाउन परिमार्जनको प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारेको छ। सम्बन्धित सबै सरोकारवालाको सुझावका आधारमा कानुनी तथा नीतिगत सुधारलाई अन्तिम रूप दिइनेछ।
त्यस्तै, मन्त्रालयले प्रशासनिक समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले छरिएर रहेका संरचनालाई एकै स्थानमा केन्द्रित गर्ने प्रक्रिया अघि बढाएको छ।
रामशाहपथस्थित मन्त्रालयको मुख्य भवन आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएपछि मन्त्रालयले अस्थायी संरचनाबाट सेवा प्रदान गर्दै आएको थियो।
पछिल्लो पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको दोस्रो र तेस्रो तलामा आफ्नो प्रशासनिक संरचना व्यवस्थापन गरेको छ। यसै क्रममा मन्त्रालयका सचिव डा विकास देवकोटा सोही भवनमा स्थानान्तरण हुनुभएको छ। मन्त्रीको सचिवालय रहेको भवनकै माथिल्लो तलामा सचिवको नयाँ कार्यकक्ष तय गरिएको छ।
सचिवसँगै सचिवालयसँग सम्बन्धित अन्य शाखा तथा महाशाखालाई पनि चरणबद्ध रूपमा सोही भवनमा स्थानान्तरण गरिनेछ। विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयका प्रशासनिक एकाइहरू एउटै भवनमा एकीकृत भएपछि आन्तरिक समन्वय, निर्णय प्रक्रिया र समग्र सेवा प्रवाह थप सहज हुने विश्वास लिइएको छ।