विराटनगर- सुनसरी देवानगञ्जको घटनापछि त्यसक्षेत्रको स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। स्थानीय दुई समूहबीच भएको झडपलाई नियन्त्रण गर्ने क्रममा गोली लागेर हिजो सामबार एक जनाको उपचारको क्रममा निधन भएको थियो।
उक्त घटनामा सुरक्षा फौजका १५ जना र स्थानीय ११ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए। देवानगञ्ज, हरिनगरा, कप्तानगञ्ज, लौकही, इनरुवाजस्ता क्षेत्रमा तोडफोड र आगजनीका घटना भएपछि त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो।
हाल घटनास्थल क्षेत्रको स्थिति नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं नायब उपरीक्षक चन्द्र खड्काले जानकारी दिए।
जिल्लास्थित पूर्वपश्चिम राजमार्ग र दक्षिणतर्फका केही बजार भने बन्द रहेको उहाँले बताउनुभयो। जिल्ला प्रसाशन कार्यालय सुनसरीले घटनालाई साम्य पार्न तथा शान्ति सुरक्षा सुव्यवस्था कायम राख्न सबैलाई आग्रह गरेको छ।