गण्डकी। धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा आज बागलुङ नगरपालिका-४ स्थित निरयघाटलाई मानवसेवा धाम बनाउने उद्देश्यसहित १०८ तुलसी रोपण गरिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायतको उपस्थितिमा तुलसी रोपण गरिएको हो। भक्तजन र शुभेच्छुकहरूबाट प्रतिमठ रु १० हजार ५०० सहयोग लिई तुलसी रोपण गरिएको मानवसेवा धाम विकास समितिका सचिव युक्तप्रसाद सुवेदीले बताए।
ऐतिहासिकस्थल निरयघाटलाई मानवसेवा धामका रूपमा विकास गर्न गुरूयोजना बनाएर काम सुरू गरिएको मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले बताए। बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले निरयघाटलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले मानवसेवा आश्रमसँगको सहकार्यमा योजनाबद्ध रूपमा पर्यटन प्रवर्द्धनका काम अगाडि बढाएको बताए।
सोहीस्थानमा अहिले मानवसेवा आश्रमको भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ। केही दशकअघिसम्म निरयघाटमा हरिबोधनी एकादशी पर्वमा ठूलो मेला लाग्ने गरेकामा अहिले उक्त मेला लोप भइसकेको छ। नगरपालिकासहित सरोकार भएका निकायको साझा प्रयासमा सो ठाउँको महिमालाई पुनःजागृत गर्न पहल अगाडि बढेको हो। निरयघाटमा लक्ष्मीनारायण, जङ्गेश्वर महादेव मन्दिर, विभिन्न आश्रमलगायत धार्मिक महत्वका स्थल छन्।
हरिशयनी एकादशीमा तुलसी रोपण तय गरिएपछि निरयघाटमा बिहानैदेखि भक्तालुहरूको चहलपहल बढेको थियो। कालीगण्डकी स्नानका लागि पनि भक्तजन यहाँ जाने परम्परा छ। भजनकीर्तनसहिस उल्लासमय वातावरणमा एकसाथ आठ सय मठमा तुलसी रोपण गरिएको थियो।
हिन्दूधर्मअनुसार तुलसीलाई भगवान् विष्णुको प्रियस्वरूप तथा पवित्रताको प्रतीक मानिन्छ। घर आँगनदेखि मन्दिरसम्म तुलसी रोप्ने परम्पराले आध्यात्मिक शान्ति, धार्मिक आस्था र वातावरण संरक्षणको सन्देश दिने गरेको छ। हरिशयनी एकादशीदेखि चातुर्मास प्रारम्भ हुने भएकाले यस अवधिमा तुलसी रोपण, पूजाआराधना र संरक्षण गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।