बिहीबार, साउन ७, २०८३

बाढीपहिरोले ७ जिल्लाका प्रमुख सडक अवरुद्ध

 |  बिहीबार, साउन ७, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०८३

काठमाडौं- लगातारको वर्षापछिको पहिरो, बाढी र सडकमा हिलोगेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। 

 नेपाल प्रहरीले आज बिहान ९:३० बजेसम्मको विवरण सार्वजनिक गर्दै सात जिल्लाका सडक पूर्ण रूपमा अवरुद्ध रहेको तथा केही सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्म बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। 

त्यसैगरी, कान्ति लोकपथमा वर्षायामको जोखिमका कारण बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना जारी नभएसम्म रोक लगाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा  पहिरो खसेकाले सो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामाबगर–रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेकाले उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रकाशित: Jul 23, 2026| 10:52 बिहीबार, साउन ७, २०८३
प्रतिक्रिया दिनुहोस्