चितवन- पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आउन थालेको छ। संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए।
पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन। पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएको थियो। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो समय सङ्क्रमण देखिएको छैन। सङ्क्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ। उनले भने , “अहिले नियन्त्रित अवस्थामा छ। बर्डफ्लु देखिएका क्षेत्रको वरिपरिका नमूना ल्याएर परीक्षण गर्दैछौँ।”
विभागको तथ्यांक अनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी विकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो। मोरङ्को उर्लाबारी–८ र सुन्दर हरैचा–४ मा पहिलोपटक बर्डफ्लु देखिएको हो। दाहालका अनुसार कमर्सियल लेयर्स बढी प्रभावित भएको थियो। यस्तै प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा रोगको सङ्क्रमण भएको थियो। हालसम्म ११ जिल्लामा सङ्क्रमण देखिएको छ।
काठमाडौँ उपत्यका बाहेकका सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उनले बताए। काठमाडौँ उपत्यका र काभ्रे जिल्लामा मात्र ११९ स्थानमा रोग पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा मात्र ९२ स्थानमा सङ्क्रमण देखिएको थियो। जसमध्ये काठमाडौँमा ३२, ललितपुरको सदर चिडियाखाना गरी १५ र भक्तपुरमा ४५ ठाउँमा सङ्क्रमण देखिएको थियो। काभ्रेपलाञ्चोकमा मात्र २७ स्थानमा सङ्क्रमण देखिएको विभागले जनाएको छ।
विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार नेपालभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ। एघार लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ। काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो। महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। रु ५० करोड बजेट रकमान्तर भई रु ५२ करोड व्यवस्थापन भएकोमा हाल सम्म १०४ जना कृषक र फर्मको खातामा रु ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा गरी सकेको छ।
देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाले तीव्र रूपमा परीक्षण अघि बढाएका छन्। सरकारको तदारुपता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सकेको हो। अब थप सङ्क्रमण हुने सम्भावना कम रहेको वरिष्ठ पशु चिकित्सक उपाध्याय बताउछन्।
सङ्क्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ। यससँगै किसानले मूल्य पाउन थालेका छन्। सङ्क्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए। चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यता आएको थियो।