बुधबार, साउन ६, २०८३

अण्डाको मूल्य बढ्दा पनि किसानले पाएनन् लागत मूल्य

 |  बुधबार, साउन ६, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०८३

चितवन- ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो।

नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ। सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ४ सय ५० रुपैयाँबाट ५०० पुगेको छ। मध्यम अण्डा ४ सय २० रुपैयाँ बाट ४ सय ७० रुपैयाँ पुगेको छ। सानो अण्डा ४ सय १५ रुपैयाँ पुगेको छ। सबैमा प्रतिक्रेट ५० रुपैयाँ बढेको हो।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए।

दैनिक ४५ लाखको हाराहारीमा अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाखको हाराहारीमा झरेको उनले बताए। जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको ५ सय ५० रुपैयाँमा बिक्री भएकामा झरेर ४ सय ५० रुपैयाँमा आइपुगेको थियो। एक क्रेट अण्डाको लागत मूल्य ५ सय ७३ रुपैयाँ ६० पैसा पर्न आउने र प्रतिगोटा अण्डाको १९ रुपैयाँ १२ पैसा पर्न आउने बताइएको छ। अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उनले बताए।

मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन्। अध्यक्ष पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताए।

बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाउँदै उनले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्ने बताए।

प्रकाशित: Jul 22, 2026| 07:29 बुधबार, साउन ६, २०८३
प्रतिक्रिया दिनुहोस्