काठमाडौं- काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
कामपा स्वास्थ्य विभागले ‘ह्यापी माइन्ड’सँगको सहकार्यमा काठमाडौँमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर र टोलका विभिन्न ठाउँमा पुगेर विभिन्न उमेर समूह र पेसासँग सम्बन्धित व्यक्तिहरूसँग कुराकानीसमेत गरेको कामपा स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए।
शिविर जेठ ३० गतेदेखि असार ८ गते सोमबारसम्म चलेको थियो। स्वयम्भू भगवान् पाउ, कमलपोखरी, पञ्चमुखी हनुमान मन्दिर खरिबोट, बौद्ध स्तुप परिसर, इटुम्बहाल, चिवाद्यो आँगन, गहनापोखरी, हाँडीगाउँ डबली, न्हुःघ जोशी देगल मन्दिर परिसर गरी नौ ठाउँमा शिविर सञ्चालन गरिएको थियो।
शिविरमा आएर सेवा लिनेमा उमेरगत रूपमा हेर्दा १० वर्ष र अधिकतम् ८४ वर्ष उमेर व्यक्तिलाई परामर्श प्रदान गरियो। यसमध्ये सबैभन्दा धेरै १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्ति थिए। यस्तै लैङ्गिकताका आधारमा ५५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ५५५ जना महिला र ४०५ जना पुरुष सहभागी भएका थिए।
मनोसामाजिक शिविरबाट प्राप्त भएको तथ्याङ्कले सहरमा मानसिक स्वास्थ्य अब व्यक्तिगत समस्यामात्र नभई एउटा भयावह ‘जनस्वास्थ्य सङ्कट’का रूपमा विकसित हुँदै गएको महर्जनले जानकारी दिए। “तसर्थ मानसिक स्वास्थ्यसम्बन्धी केही गर्नका लागि मनोसामाजिक शिविरको माध्यमबाट समुदायस्तरको अवस्था अध्ययन गर्न शिविर चलाएका हौँ”, महर्जन भन्छन्, “मानसिक स्वास्थ्य समस्या मनभित्रै र घरभित्रै लुकाउने विषयका रूपमा हेर्नु हुँदैन। शरीरमा लागेको रोग जसरी उपचार गराइन्छ, त्यसरी नै मनमा लागेको रोगको पनि उपचार गराउनुपर्छ।”
“सहरमा सबै मानिस कुनै न कुनै मानसिक समस्यामा गाँजिएकै छन्। सबैलाई कुनै न कुनै रूपको उपचार चाहिएको छ। यसका केही उपचार व्यक्ति आफैँले गर्न सक्छन्। केही परिवारबाट सम्भव छ। केही समाजबाट र केहीचाहिँ स्वास्थ्यकर्मीबाटै उपचार गराउनुपर्छ”, महर्जनले भने।
सहरमा मानसिक स्वास्थ्य समस्याको तथ्याङ्कगत अवस्थाले, बढ्दो अवस्था घटाउन विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाताको व्यवस्था, अभिभावकलाई सचेतना, युवाहरूका लागि रोजगारीको सुनिश्चितता र ज्येष्ठ नागरिकका लागि सामाजिक सक्रियताका कार्यक्रमलाई सम्बन्ध भएका निकायले ध्यान दिनुपर्ने बताइएको छ।
नत्र सहर एक दिन ‘मानसिक समस्याको मौन महामारी’मा पर्ने जोखिम रहेको बताइएको छ। -रासस