सोमबार, साउन ११, २०८३

दिनभर चर्को गर्मी, राति वर्षा

 |  मंगलबार, जेठ २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २६, २०८३

महोत्तरी- दिनभरि जेठ तेस्रो साताको झैँ उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहित आसपासका जिल्लामा प्रत्येक रात पानी पर्दै आएको छ। 

गत शुक्रबार जेठ चौथो साता शुरू भएसँगै प्रत्येक रात पानी पर्ने गरेको छ। योक्रम सोमबार पनि जारी रह्यो। यसपालि जेठ तेस्रो साता शुरू भएसँगै धेरै गर्मी बढेपछि जनजीवन निकै कष्टकर बन्दै आयो। तर चौथो साता सुरु भएसँगै प्रत्येक रात केहीबेर सघन वर्षा भएपछि दिनभरिको चर्को गर्मीले सर्वसाधारण बताउँछन्।

'गर्मी त खपीनसक्नु बढेको छ, तर गत शुक्रबारयता प्रत्येक रात वर्षा हुँदै आएको छ, यसले निकै राहत मिलेको छ,' गौशाला–१ रामनगरका ६५ वर्षीय गणेश महतो भन्छन्, 'निरन्तरको वर्षाले बालीनालीलाई निकै राहत मिलेको छ।'

शुक्रबारयता रातिको वर्षाले खेतबारीमा प्रशस्त चिस्यान भएपछि यहाँका किसान धमाधम धानको ब्याड राख्न थालेका छन्। 'वर्षा दिनहुँ भए पनि हिले ब्याड भने राख्न पाइएको छैन, तर माटोमा प्रशस्त चिस्यान भएको हुँदा धुले ब्याड राख्यौँ,' बर्दिबास–६ कृष्णपुरका ६० वर्षीय किसान रघु काफ्ले भन्छन्, 'दिनभरि अचाक्ली गर्मी भए पनि प्रत्येक रातको वर्षाले खेतीपातीलाई सजिलो बनाएको हुँदा राहत मिलेको छ। किसानले यही वर्षाबीच धानसँगै कोदोको ब्याड पनि धमाधम राख्दैछन्।' 

यसैगरी उखु,  मकै र तरकारीबालीलाई पछिल्लो वर्षा अमृत भएको किसान बताउँछन्। पानी नपरी हिउँद बित्दा पानीका स्रोतका मुहान चाँडै सुक्दा बालीनाली लगाउन नपाइने चिन्तामा थिए। त्यसमा पनि जारी जेठको तेस्रो साता सुरु भएसँगै दिनभरि ३८/३९ डिग्री सेल्सियसको सेरोफेरोमा तापक्रम रहने गरेको छ। 

जेठ तेस्रो साताको अन्त्यतिर त गर्मीले गर्दा जिल्लाका स्थानीयतहले धमाधम विद्यालय बन्दको घोषणा गर्ने लहर नै चल्यो। तर चौथो साता लागेपछि प्रत्येक रात पर्ने पानीले मौसममा केही सुधार ल्याएसँगै बन्द गरिएका विद्यालय सोमबारदेखि सञ्चालन हुन थालेका बर्दिवास नगर कार्यपालिकाको कार्यालयका शिक्षा तथा खेलकुद शाखाका अधिकृत रमण निरौलाले जानकारी दिए।

पछिल्लो पटक दिनहुँजसो राति केहीबेर पानी पर्दै आएपछि यहाँका सर्वसाधारणमा पानीका स्रोतका मुहान अब चाँडै रसाउने आश पलाएको छ।

प्रकाशित: Jun 09, 2026| 06:40 मंगलबार, जेठ २६, २०८३
प्रतिक्रिया दिनुहोस्