आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जोर्तीघाटमा झोलुङ्गे पुल निर्माणः तीन जिल्लाका स्थानीयलाई सहज

जोर्तीघाटमा झोलुङ्गे पुल निर्माणः तीन जिल्लाका स्थानीयलाई सहज

 |  आइतबार, जेठ १७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १७, २०८३

खोटाङ। दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकैसाथ दुई वटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्ने गरी दूधकोशी र सुनकोशीमा दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको हो।

National life

जोर्तीघाटमा निर्माण गरिएका झोलुङ्गे पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई सहज रूपमा आवागमन गर्ने वातावरण बनेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताए।

‘पुलले पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ। पुल सञ्चालनसँगै खोटाङ, ओखलढुङ्गा र उदयपुरका स्थानीयलाई आवतजावतमा सहज भएको छ’, उनले भने।

पुल सञ्चालन भएपछि विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुगेको नगरप्रमुख राईको भनाइ छ। तीन जिल्लाको सङ्गमस्थल जार्तीघाटमा बनेका यी दुई झोलुङ्गे पुलले विकास, सम्भावना र सामाजिक एकताको नयाँ सेतु निर्माण गरेको उनले बताए।

खोटाङ र ओखलढुङ्गा जोड्ने दूधकोशीको पुल १३४ मिटर तथा ओखलढुङ्गा र उदयपुर जोड्ने सुनकोशीको झोलुङ्गे पुल १७८ मिटर लामो छ। विसं २०७९ साउन ६ गते सस्पेन्सन ब्रिज डिभिजन र निर्माण कम्पनी श्री अपर तामाकोशी जेके जेभीबीच सम्झौता भई दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको नगरप्रमुख राई जानकारी दिए।

Shivam cement

झोलुङ्गे पुलको औपचारिक उद्घाटन १९औँ गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते गरिएको थियो। दुवै झोलुङ्गे पुल राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई ‘व्याकुल माहिला’को पहलमा निर्माण गरिएको हो।

पुल उद्घाटन कार्यक्रममा खोटाङका किरात समुदायले साकेला सिली तथा सांस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै तीन जिल्लाका स्थानीयले कोशी किनारमा पूजाआजासमेत गरेका थिए। दूधकोशी र सुनकोशीको दुईवटा झोलुङ्गे पुल करिब तीन करोड ३१ लाख रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन, पुलचोकका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिए।

लामो समय डुङ्गाको सहारामा दूधकोशी र सुनकोशी वारपार गर्दै आएका स्थानीय ढिलै भए पनि जोर्तीघाटमा सुविधा सम्पन्न पुल एकैसाथ सञ्चालनमा आएपछि हर्षित भएका छन्। ती पुल सञ्चालनमा भएपछि पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ।

‘जोर्तीघाटका यी दुई झोलुङ्गे पुलले तीन जिल्लालाई एउटै ठाउँमा जोडेको छ। साथै यी पुल एउटै जीपबाट बनेका छन्। यी दुवै पुलको जीप ओखलढुङ्गातर्फ एउटै छ’, योजना प्रमुख बुढाथोकीले भने।

उनका अनुसार एउटै जीपबाट बनेका दुई वटा झोलुङ्गे पुल एउटाले दूधकोशी नदी पार गर्दै खोटाङ र अर्कोले सुनकोशी नदी पार गर्दै उदयपुरलाई जोडेको छ। दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल जोर्तीघाट आसपासको प्राकृतिक सौन्दर्य अवलोकन गर्न दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका स्थानीय बताउँछन्। रासस

प्रकाशित: May 31, 2026| 19:23 आइतबार, जेठ १७, २०८३
प्रतिक्रिया दिनुहोस्