उदयपुर- त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ।
साधना टोलका स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीय हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरु १४ वर्षीय यशोदा र अर्का ९ वर्षीय यासिका बुढाथोकी रहेका छन्।
छिमेकी राधा बुढाथोकीका अनुसार शनिबार हेमा बुढाथोकीले घरमा बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना खाएको र शनिबार रातिदेखि नै बान्ता तथा बेहोस हुने लक्षण देखिएपछि परिवारका सबै बिरामीलाई आफन्त र छिमेकीले उपचारका लागि जिल्ला अस्पतालमा लगेको राधा बुढाथोकीले बताइन्।
तीन जना योगेश, यासिका र यशोदाको उपचारपछि घर फर्केको जिल्ला अस्पताल उदयपुरले बताएको छ। तर, २३ वर्षीया हेमा बुढाथोकीको अवस्था चिन्ताजनक भएका कारण थप उपचारका लागि विराटनगर पठाइएको उदयपुरका प्रमुख डा मुकेश झाले बताए। हेमाको श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजागारमा विदेशमा रहनुभएको छ भने घरमा हेमासहित छोरा योगेश र नन्दहरु यशोदा र यसिकासहित बस्दै आएको छिमेकीहरुले बताएका छन्।