आइतबार, जेठ १०, २०८३

देशभर नयाँ सार्वजनिक सवारी दर्तामा सरकारले लगायो रोक

 |  शुक्रबार, जेठ ८, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ८, २०८३

काठमाडौं- यातायात व्यवस्था विभाग ले बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाएको छ।

National life

विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई परिपत्र गर्दै विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधनसमेतको नयाँ दर्ता तत्कालका लागि रोक्न निर्देशन दिएको हो।

विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाइ बढ्दै गएको छ। इन्धनको मूल्यवृद्धि, सवारी साधनको अत्यधिक चाप तथा सडक व्यवस्थापनमा देखिएको चुनौतीलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ।

परिपत्रमा सार्वजनिक सवारीको यथोचित व्यवस्थापनका लागि अर्को सूचना जारी नभएसम्म नयाँ दर्ता रोक्ने निर्णय कार्यान्वयनमा ल्याइएको उल्लेख छ।

विभागले यो निर्णय सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) अनुसार गरिएको जनाएको छ। उक्त व्यवस्थामा वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा अन्य कारणले सार्वजनिक हितका लागि आवश्यक ठानेमा कुनै पनि प्रकारका सवारी साधनको दर्ता रोक्न सकिने प्रावधान छ।

Shivam cement

सरकारले सार्वजनिक यातायातको वैज्ञानिक तथा व्यवस्थित सञ्चालन सुनिश्चित गर्ने उद्देश्यले निर्णय गरिएको स्पष्ट पारेको छ। यस निर्णयसँगै अब अर्को व्यवस्था नभएसम्म देशभर कुनै पनि प्रकारका नयाँ सार्वजनिक सवारी साधन, विद्युतीय सवारीसहित, दर्ता नहुने भएको छ।

प्रकाशित: May 22, 2026| 07:53 शुक्रबार, जेठ ८, २०८३
प्रतिक्रिया दिनुहोस्