सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज बागमती र गण्डकीमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज बागमती र गण्डकीमा वर्षाको सम्भावना

 |  आइतबार, जेठ ३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३, २०८३

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना  छ।

यसैगरी,  मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने सम्भावना पनि औँल्याएको छ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहने जनाइएको छ। बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति नै कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ।

प्रकाशित: May 17, 2026| 07:13 आइतबार, जेठ ३, २०८३
प्रतिक्रिया दिनुहोस्