मंगलबार, वैशाख २९, २०८३

एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति ?

 |  मंगलबार, वैशाख २९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २९, २०८३

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको (२०८२ सालको) माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सोमबार सार्वजनिक गरेको छ। सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने समयसीमा दिएपछि बोर्डले तीव्रगतिमा तयारी गरी परीक्षा सम्पन्न भएको २९ दिनमा नतिजा सार्वजनिक गरेको हो। 

National life

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा  सोमबार राति ९:१५ बजे आयोजित पत्रकार सम्मेलनमा एसइई परीक्षामा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षासचिव चुडामणि पौडेलले जानकारी दिएका थिए। उनका अनुसार परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन्।

यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकामा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका शिक्षासचिव पौडेलले जानकारी दिए। सार्वजनिक नतिजाअनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जिपिए अर्थात् तीन दशमलव ६० देखि चार ल्याएका छन् भने ८० हजार ३७२ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए ल्याएका छन्। 

त्यस्तै, ९४ हजार २२२ जनाले दुई दशमलव ८० देखि तीन दशमलव २० जिपिए, ५५ हजार ९७७ जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जिपीए,  पाँच हजार १९० जनाले दुईदेखि दुई दशमलव ४० जिपिए र सात जनाले एक दशमलव ६० देखि दुई जिपिए ल्याएका शिक्षासचिव पौडेलले जानकारी दिए।

उनका अनुसार ननग्रेडेड (एनजी) प्राप्त गर्ने विद्यार्थीहरूले पुनःग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ। दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने जनाउँदै सोभन्दा बढी विषयमा एनजी आउनेहरू अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा उनले बताए।

यसवर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो। वैशाख ५ गतेसम्ममा देशैभरबाट उत्तरपुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो। गत वर्ष असार १३ गते परीक्षाफल सार्वजनिक भएको थियो।

प्रकाशित: May 12, 2026| 06:56 मंगलबार, वैशाख २९, २०८३
प्रतिक्रिया दिनुहोस्