महेन्द्रनगर- कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु प्रहरी गरी हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो।
स्थानीय युवाहरुबीच आपसी विवाद हुँदा चक्कु प्रहरी गरी गम्भीर घाइते भएका सायरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा राति २:०० बजे मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई नियन्त्रणमा लिएको बताए।
उनले आरोपितहरुलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको र घटनाको विस्तृत अनुसन्धान सुरु भइसकेको जानकारी दिए।