मंगलबार, साउन १२, २०८३

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

 |  मंगलबार, वैशाख १, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १, २०८३

चितवन- अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको छ। लेयर्स कुखुरापालक सङ्घले फार्महरुको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो।

बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य ४६५ पुगेको छ। यसअघि प्रतिक्रेट ४५० रुपैयाँमा बिक्री गरिएको ठूलो अण्डाको मूल्य १५ रुपैयाँले बढेको हो। यस्तै मझौला अण्डाको फार्म मूल्य ४१५ रुपैयाँ कायम गरिएको छ। यसअघि यो अण्डा ४०० रुपैयाँमा बिक्री हुँदै आएको थियो।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो। तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो। मझौलाको रेट ५५० रुपैयाँ थियो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दै गएको गर्मीका कारण उत्पादनमा कमी आएको छ। नयाँ वर्षको पूर्वसन्ध्यादेखिनै भएको पर्यटकीय चहलपहल र गतिविधि बढेका कारण अण्डाको माग बढेको छ। सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट अण्डा आउने क्रम घटेको छ। यिनै कारणले अण्डाको माग बढेको र उत्पादन घटेकाले मूल्य बढेको हो। यद्यपि लागत मूल्यमा पुग्न सकेको छैन।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ दशमलव १२ रुपैयाँ पर्न आउँछ। यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ पर्न आउँछ। लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका छन्। मूल्य बढ्ने आशमा किसान रहेका छन्। सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ। अध्यक्ष पोखरेलले अब अण्डाको मूल्य बढेर लागत मूल्यसम्म पुग्ने अपेक्षा गरिएको बताए।

प्रकाशित: Apr 14, 2026| 08:54 मंगलबार, वैशाख १, २०८३
प्रतिक्रिया दिनुहोस्