सोमबार, कात्तिक १६, २०८३

म्याग्दीको मंगलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्रको भाडा तिर्न बजेट अभाव

 |  आइतबार, चैत २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०८२

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ। आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो। 

उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित भएका छन्। पाँच वर्षको प्रयासपछि केन्द्र स्थापना भएको सञ्चालक समितिका सदस्य नवराज पौडेलले बताए।

बेनी– ७ मा यसअघि स्वास्थ्य संस्था थिएन। केन्द्रमा नगरपालिकाले एक जना सिनियर अहेव र एक जना स्टाफ नर्स खटाएको छ। स्वास्थ्य परीक्षण, खोप, निःशुल्क औषधि वितरण, परामर्श, गर्भपरीक्षण, सुत्केरी घरभेटलगायत स्वास्थ्य चौकीबाट प्रदान गरिने आधारभूत तहको सेवा उपलब्ध रहेको छ। सेवा लिनेको सङ्ख्या मासिक २०० जनाको हाराहारीमा रहेको केन्द्रका सिनियर अहेव सीमा भण्डारी घिमिरेले बताइन्।

भाडाको घरमा केन्द्र सञ्चालन भएको छ। बेनी नगरपालिकाले स्वास्थ्य केन्द्र स्थापनाका लागि विनियोजन गरेको एक लाख ५० हजार बजेटले फर्निचर र स्वास्थ्य सामग्री खरिदमा अपुग भएपछि स्थानीयवासीले एक लाख १३ हजार सङ्कलन गरेर भुक्तानी गरेका सञ्चालक समितिका सदस्य पौडेलले बताए।

वार्षिक ६० हजार रुपैयाँ घरभाडा तिर्न बजेट अभाव हुँदा समस्या भएको उजले बताए। केन्द्रको भवन निर्माण र नियमित सञ्चालन गर्न मङ्गलाघाटवासीले माग गरेका छन्। नगरपालिकाले वडास्तरीय स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने टोलका बासिन्दालाई लक्षित गरेर यसअघि सिङ्गा, डडुवा, सेताढुङ्गा, गलेश्वर र तोरीपानीमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको थियो।

प्रकाशित: Apr 12, 2026| 22:42 आइतबार, चैत २९, २०८२