भक्तपुर- बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको छ।
मंगलबार स्वास्थ्यमन्त्री किरण थापामगरले कानुनमा उल्लेख भएअनुसार अस्पतालले कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको बताए।
उनले भनिन्, ‘मन्त्रालयले सोमबार प्रदेशका १३ जिल्लाभित्र सञ्चालनमा रहेका निजी तथा विभिन्न गैरसरकारी संस्थाका नाममा सञ्चालित अस्पताल एवं स्वास्थ्य संस्थालाई प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (६) मा रहेको कानुनी व्यवस्था आजैदेखि अक्षरशः कार्यान्वयन गर्न निर्देशन जारी गरेका छौँ, कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गर्छौँ।’
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले स्वास्थ्य सेवा ऐनअनुसार हरेक अस्पतालले सामाजिक सेवा एकाइ स्थापना गरी बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क रूपमा कुल शय्या सङ्ख्याको कम्तीमा १० प्रतिशत शय्यामा उपलब्ध गराउन निर्देशन दिएको बताइन्।