मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सिंचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

सिंचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

 |  मंगलबार, चैत २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०८२

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन्।

पछिल्लो तीन वर्षमा वडा कार्यालयले किसानको सिँचाइ समस्या समाधानका लागि ३० वटा स्यालो ट्युबवेल र दुई वटा अटोजन बोरिङ जडान गरेको छ। किसानलाई अनुदान रकम उपलब्ध गराएर ट्युबवेल र बोरिङ जडान गरिएको हो।

सिँचाइ सुविधा विस्तार भएसँगै करिब २०० बिघा जमिनमा सिँचाइ पुगेको छ भने ३०० भन्दा बढी किसान लाभान्वित भएका छन्। वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार व्यावसायिक खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर अनुदानमा सिँचाइका लागि स्यालो ट्युबवेल र अटोजन बोरिङ जडान गरिएको हो। किसानलाई तीनदेखि पाँच जनाको समूह बनाएर स्यालो ट्युबवेल उपलब्ध गराइएको उनले बताए। यसबाट व्यावसायिक तथा उन्नत जातको खेती गर्ने किसान बढी लाभान्वित भएका छन्।

चालु आर्थिक वर्षमा किसानलाई थप १० वटा स्यालो ट्युबवेल र एक अटोजन बोरिङ जडान गर्ने कार्य अगाडि बढाइएको छ। यसका लागि वडा कार्यालयले रु चार लाख बजेट विनियोजन गरेको छ। गत वर्ष १० वटा स्यालो ट्युबवेल र एक अटोजन बोरिङ जडान गरिएको थियो भने त्यसअघिल्लो वर्ष १० वटा स्यालो ट्युबवेल जडान गरिएको थियो।

प्राविधिक रूपमा एक स्यालो ट्युबवेलले करिब पाँच बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउन सक्छ भने एक अटोजन बोरिङले ३० बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सक्ने क्षमता रहेको छ। सिँचाइ सुविधा विस्तार भएसँगै किसानले आकासे पानीमा निर्भर रहनुपर्ने अवस्था कम हुँदै गएको छ।

वडा–५ गर्जमुनिका किसान अंकली चौधरीले सिँचाइ सुविधा भएपछि खेती गर्न निकै सहज भएको बताए। “पहिले आकासे पानीकै भरमा खेती गर्नुपथ्र्यो, अहिले आवश्यकताअनुसार सिँचाइ गर्न पाइन्छ”, उनले भने। वडा कार्यालयले सिँचाइ सुविधा विस्तारसँगै व्यावसायिक खेती, तरकारीखेती र बहुवाली खेती विस्तार हुने विश्वास लिएको छ। किसानको उत्पादन र आम्दानी वृद्धि गर्न आगामी वर्षहरूमा पनि सिँचाइ कार्यक्रमलाई प्राथमिकतामा राखिने वडा कार्यालयले जनाएको छ।

प्रकाशित: Apr 07, 2026| 11:23 मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्