काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ। साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र तराई भेगमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ।
हिमाली क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह पनि गरेको छ।