दाङ- दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो। योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, हालको यातायात कार्यालय नजिक, इन्द्रनगर र साबिक अञ्चल प्रहरी कार्यालय गरी ६ स्थानमा डिपबोरिङ निर्माण गर्नुपर्ने थियो।
योजनाअनुसार पानी आएन । एउटा बोरिङबाट १० लिटर प्रतिसेकेन्ड पानी आउनुपर्नेमा दुई लिटर प्रतिसेकेन्ड पानी नआएपछि ती स्थानका डिपबोरिङ अन्यत्र सारिएका छन्।
पढ्ढामा तीन र बबई नदीको किनारमा दुई डिपबोरिङ स्थानान्तरण गरिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाले बताए।
“हामीलाई १० लिटर प्रतिसेकेन्ड भन्दा बढी पानी चाहिने हो”, उनले भने, “तर डिजाइन अनुसारका बोरिङमा दुई लिटर प्रति सेकेन्डसम्म नआउने भयो । त्यसैले हामीले पढ्ढा र बबई नदीमा डिपबोरिङ खन्यौँ।”
अबको केही समयमा त्यहाँको पानी तुलसीपुर ल्याउन तयारी छ । बबईमा डिपबोरिङ खनेसँगै डिजाइन परिवर्तन गरी पम्पिङबाट पानी ल्याउनुपर्ने छ । त्यसका लागि अहिले पम्प खरिद गरेर ल्याउँदा करिब तीन/चार महिना लाग्न सक्ने उनले बताए । त्यहाँबाट ९० लिटर प्रति सेकेन्डभन्दा बढी पानी ल्याउने तयारी छ।
तीन सम्वेलनसहितबाट बबईको पानी तुलसीपुर ल्याइने छ । अन्य संरचना तयार भइसकेका छन् । पढ्ढामा निर्माण भएका तीन बोरिङबाट भने नयाँ वर्षभित्रै पानी ल्याउने तयारी रहेको आयोजनाका प्रोजेक्ट म्यानेजर हरेन्द्र भट्टले बताए । जहाँबाट २४ लिटर प्रतिसेकेन्ड पानी ल्याउने तयारी छ । त्यहाँबाट ल्याएको पानी डुम्री गाउँको ट्याङ्कीबाट वितरण गरिनेछ।
खानेपानीको पाइप विस्तारको काम लगभग अन्तिम चरणमा छ । रक्षाचौर क्षेत्रमा स्थानीयले विवाद गरेकाले मात्रै त्यहाँ विस्तार हुन सकेको छैन । त्योबाहेक सबै क्षेत्रमा विस्तार भइसकेको छ। पानी शुद्धिकरणका लागि बबईमा र्यापिड स्यान्ड फिल्टर, डिप बोरिङ भएका स्थानमा मल्टी ग्रेड प्रेसर फिल्टर निर्माण भएका छन्।
सीतलपुरमा आरभिटी कलेक्सन चेम्बर ५०० घन मिटर, इन्टर मिडियट आरभिटी टकी संतनिरङकारी नेर ३०० घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटि ३०० घन मिटर बन्ने, झुमरेमा ५०० घनमिटर र डुम्रीगाउँमा ६०० घनमेटिरका ट्याङ्की बनेका छन्।
शिखर कोलेनीमा ४५० घनमिटर, मोतिपुरमा २२५ घनमिटर, इन्द्रनगरमा ४५० मिटर घनमिटर ओभरहेड ट्याङ्की निर्माण भएका छन्। डुम्रीगाउँमा ६०० घनमिटर र खानेपानी कार्यालय परिसरमा ३०० घनमिटर अन्डरग्राउन्ड ट्याङ्की निर्माण भएका छन्।
प्रसारण पाइप लाइन २८.३१५ किलोमिटर हुनेछ, भने पानी वितरण पाइप १२५.७५२ किलोमिटर रहेको छ। त्यस्तै सात वटा सुरक्षा गार्ड हाउस र १० वटा पम्प हाउस निर्माण भएका छन्। एक वर्षअघि सक्नुपर्ने उक्त आयोजनाको काम पूरा नभएपछि पुनः २०८३ असारसम्म म्याद थप गरी काम अगाडि बढाइएको थियो।
तुलसीपुर खानेपानीको अहिलेसम्म १० हजार बढी धारा रहेका छन्। अहिले खानेपानीको हाहाकार हुने गर्छ । पानी पुर्याउनै समस्या हुने गर्छ । त्यसले गर्दा बबईको पानी आएमा त्यो समस्या हल हुने संस्थाका कोषाध्यक्ष थापाले बताए । हाल तुलसीपुर खानेपानीको मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरी आठ वटा ग्राभेटी मुहान छन्।
कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साबिक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेडक्रस परिसरमा भूमिगत मुहान स्रोत रहेका छन्।
रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् । रु ५६ करोड ८० लाख २४ हजार ६३० लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो। नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो।
यसमा सरकारले रु ३८ करोड ८३ लाख र उपभोक्ताको रु १७ करोड सात लाख लाग्छ। अहिले उपभोक्ताको तर्फबाट अहिले पाँच प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको छ। नगर विकास समितिबाट रु १४ करोड २२ लाख ऋण लिएको र बाँकी रु दुई करोड ८४ लाख उपभोक्ताले तिरेका छन्। -रासस