बिहीबार, चैत १२, २०८२

बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

 |  बिहीबार, चैत १२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०८२

भैरहवा- बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको आर्थिक क्षति भएको छ। पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा भिजेर नष्ट हुँदा उद्योगी समस्यामा परेका छन्।

National life

लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका पूर्वअध्यक्ष अजयकुमार गुप्ताका अनुसार गत साताको वर्षाले जिल्लाभर उत्पादित काँचो इँटामा क्षति पुगेको हो। जिल्लामा हाल करिब ३० वटा इँटा उद्योग सञ्चालनमा रहेका लुम्बिनी उद्योग व्यवसायी सङ्घले जनाएको छ।
 
“पछिल्लो समय कोइला र डिजेलजस्ता इन्धनको मूल्यवृद्धिले उत्पादन लागत बढिरहेको अवस्थामा वर्षाका कारण करोडौँ मूल्य बराबरको इँटा नष्ट हुँदा उद्योगी थप सङ्कटमा परेका छन्”, गुप्ताले भने। हरेक वर्ष दोहोरिने बेमौसमी वर्षाले उद्योग क्षेत्रलाई दीर्घकालीन असर पार्दै आएको उनको भनाइ छ।

गणेश इँटा उद्योग रुपन्देहीका व्यवस्थापक गणेश रायमाझीले बेमौसमी वर्षाका कारण जिल्लामा करिब तीन करोडभन्दा बढी काँचो इँटा नष्ट भएको जानकारी दिए। “पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा पानीले भिजेर पूर्ण रूपमा नष्ट भएका छन्”, उनले भने।

एउटा काँचो इँटाको मूल्य औसत रु सात पर्ने भएकाले कुल क्षति करोडौँ रुपैयाँभन्दा माथि पुगेको रायमाझीले बताए। काँचो इँटाको बिमाको व्यवस्था नहुँदा उद्योगीले वर्षेनी ठूलो नोक्सानी व्यहोर्नु परेको उनले गुनासो गरे। 

उद्योगीले अन्य उत्पादन क्षेत्रसरह इँटा उद्योगलाई पनि बिमा प्रणालीभित्र समेट्ने नीति ल्याउन सरकारसँग माग गरेका छन्। मौसमजन्य जोखिम न्यूनीकरणका लागि दीर्घकालीन नीति आवश्यक रहेको उनीहरूको भनाइ छ। हिउँदसँगै सुरु हुने इँटा उत्पादन मौसमको अनियमितताले प्रभावित हुँदा यस क्षेत्रको समग्र लगानी र रोजगारीमा समेत असर पर्दै आएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 26, 2026| 13:55 बिहीबार, चैत १२, २०८२
प्रतिक्रिया दिनुहोस्