बुधबार, फागुन २७, २०८२

लहानका डेन्टल क्लिनिकः चिकित्सको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

 |  बुधबार, फागुन २७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २७, २०८२

सिरहा । यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार आकस्मिक स्थलगत अनुगमन गर्दा गैर चिकित्सकबाट उपचार भइरहेको गम्भीर तथ्य फेला परेको छ। 

National life

नेपाल मेडिकल काउन्सिलअन्तर्गतको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा अजय कुमार साहको नेतृत्वमा खटिएको टोलीले लहान–३ स्थित अस्पताल चोक क्षेत्रमा सञ्चालित केही डेन्टल क्लिनिकहरूको निरीक्षण गरेको हो।

अनुगमनका क्रममा हिमाल डेन्टल क्लिनिक, राधा कृष्ण डेन्टल क्लिनिक तथा वेस्ट राधा डेन्टल क्लिनिकमा सम्बन्धित विषयको योग्यता प्राप्त विशेषज्ञ चिकित्सक बिना नै उपचार सेवा सञ्चालन भइरहेको पाइएको काउन्सिलले जनाएको छ। ती क्लिनिकहरूमा केवल करिब साढे दुई वर्ष ‘डेन्टल हाइजेनिष्ट’ अध्ययन गरेका जनशक्तिको भरमा बिरामीको उपचार भइरहेको भेटिएको छ। 

काउन्सिलका अनुसार केही सञ्चालकहरूले अन्य चिकित्सकको नाम बोर्डमा राखेरभित्र आफूखुसी उपचार गर्ने, चिकित्सकको कृत्य हस्ताक्षर गर्ने तथा प्रचलित स्वास्थ्य ऐन, नियमावली र मापदण्डविपरीत क्लिनिक सञ्चालन भइरहेकोसमेत पाइएको छ।

अनुगमन टोली पुग्ने सूचना पाएपछि सगरमाथा डेन्टल क्लिनिकका सञ्चालक भने क्लिनिक बन्द गरेर फरार भएको थियो। अनुगमन टोलीका संयोजक डा अजय कुमार साहले बिना योग्य चिकित्सक क्लिनिक सञ्चालन गर्नु गम्भीर कानुनी उल्लङ्घन भएको बताए। उनले भने, 'योग्य चिकित्सक बिना डेन्टल क्लिनिक सञ्चालन गर्नु कानुनविपरीत मात्र होइन, यसले सर्वसाधारणको स्वास्थ्य र ज्यानमाथि प्रत्यक्ष जोखिम निम्त्याउँछ। प्राप्त उजुरीका आधारमा हामीले स्थलगत अनुगमन गरी यस्ता अवैध क्लिनिकहरूको पहिचान गरेका छौँ र दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।'

Laxmi sunrise bank
kumari

अनुगमन टोलीमा डा साहसहित विज्ञका रुपमा डा राजिव शर्मा र डा सुमन कर्ण सहभागी भएका थिए। काउन्सिलले आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: Mar 11, 2026| 15:58 बुधबार, फागुन २७, २०८२
प्रतिक्रिया दिनुहोस्