सोमबार, फागुन २५, २०८२

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

 |  सोमबार, फागुन २५, २०८२

संगीता राई

संगीता राई

सोमबार, फागुन २५, २०८२

धरान। धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफैँ श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ।

National life

धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रूपमा चर्चाको पात्र बनेका भएका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी बनेका हुन्।

२०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिह्न लिएर उनी निर्वाचित भएका थिए। सामान्य जीवनशैली, स्पष्ट वक्ता र विकासका लागि श्रमदान अभियानका कारण राई छोटो समयमै चर्चामा आए।

नगरप्रमुख बनेपछि उनले परम्परागत राजनीतिक शैलीभन्दा फरक अभ्यास गरे। महँगा औपचारिकताभन्दा श्रमदान अभियानलाई प्राथमिकता दिए। उनी आफैँ ढुङ्गा बोक्ने, नाली सफा गर्ने तथा पानीका मुहानसम्म पुगेर काम गरे। धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा उनले महिनौँसम्म जनतासँगै श्रमदान गरे।

सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद, नागरिक सहभागितामा आधारित विकास र भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने शैलीले उनलाई समर्थकहरूबीच ‘अभियानबाट उठेको नेता’का रूपमा चिनायो। उनको कार्यशैलीलाई लिएर आलोचना गर्नेहरू पनि उत्तिकै सक्रिय रहे। समर्थक र आलोचकबीचको बहसले उनलाई निरन्तर सार्वजनिक चर्चाको केन्द्रमा राख्ने गरेको छ।

Laxmi sunrise bank
kumari

राईको सामाजिक र राजनीतिक सक्रियता भने मेयर बन्नुअघि नै सुरु भइसकेको थियो। २०६८ सालतिर धरानमा करवृद्धि तथा विभिन्न बेथितिविरुद्ध भएका आन्दोलनमा उनी सक्रिय भए। पछि जनसरोकार मञ्चमा आबद्ध हुँदै उनले आन्दोलनको नेतृत्व गरे। धरानको पुरानो खानेपानी समस्यालाई लिएर ‘पानी दे, पानी दे’ भन्ने नारासहितको अभियान चलाउँदा उनी स्थानीयस्तरमा चर्चामा आएका थिए। खानेपानी मुहान अनुगमनका क्रममा पाइप तोडफोडको आरोपमा उनी एकपटक पक्राउसमेत परे। केही दिन पछि उनी रिहा भएका थिए।

हर्क साम्पाङले अवैध ढुङ्गा गिट्टी उत्खनन रोक्न खोलासम्म पुगेर विरोध गरे। मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा संघर्ष समितिमा सह संयोजक भएर आन्दोलन गरे। त्यसैगरी सीमा अतिक्रमणदेखि स्वास्थ्य सेवा सुधारसम्मका विषयमा आवाज उठाइरहे। त्यही गतिविधिले उनलाई स्थानीयस्तरमा सक्रिय अभियन्ताका रूपमा स्थापित गरायो। गीत संगीतमा समेत रुचि राख्ने राईले केही वर्षअगाडि ‘मिसिङ हार्ट’ नामक एल्बमसमेत सार्वजनिक गरेका थिए। हिजोआज पनि कहिलेकाहीँ गितार बजाउँदै गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्ने शैलीले पनि उनलाई फरक पहिचान दिलाएको छ। सामाजिक सञ्जालमा उनी ‘हर्क साम्पाङ रिभोलुसन’ नामबाट चर्चित छन्।

नगर प्रमुखकै जिम्मेवारीमा रहँदा उनले गत ४ माघमा पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरे र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बने। उनले अब सांसदका रूपमा आफूले अघि सारेको श्रम र नागरिक सहभागिताको ढाँचालाई राष्ट्रियस्तरमा विस्तार गर्ने दाबी गर्दै आएका छन्।

धरानको सडक र खानेपानीको मुहानबाट सुरु भएको राईको यात्रा अब संसद् भवनसम्म पुगेको छ। स्थानीय आन्दोलनबाट उठेको राईको राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने जिज्ञासा भने सबैको मनमा देखिन्छ।

प्रकाशित: Mar 09, 2026| 10:16 सोमबार, फागुन २५, २०८२
प्रतिक्रिया दिनुहोस्