काठमाण्डाैं- लर्निङ रियल्म इन्टरनेशनल Learning Realm International (LRI) School ले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरभित्र स्थापना गरिएको 'बाल संसद' को नमुना सत्र भव्य रूपमा सम्पन्न गरेको छ। नेपालमै विद्यालयस्तरमा नियमित रूपमा सञ्चालन हुने यस्तो नमुना संसद अभ्यास उक्त विद्यालयमा मात्र सञ्चालन हुँदै आएको दाबी विद्यालयले गरेको छ।विद्यार्थीहरूलाई नेतृत्व विकास, संसदीय अभ्यास, तर्क-वितर्क क्षमता, निर्णय प्रक्रिया तथा लोकतान्त्रिक मूल्य-मान्यताबारे व्यवहारिक अनुभव दिलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमको उद्घाटन पूर्व संसद महासचिव भरत राज गौतम ले गर्नुभयो। उद्घाटन मन्तव्यका क्रममा उहाँले संसद सञ्चालन प्रक्रिया, लोकतान्त्रिक अभ्यासको महत्व तथा युवापुस्ताको भूमिकाबारे विस्तृत रूपमा प्रकाश पारे। उहाँले विद्यार्थीहरूले आफैं सभामुख, प्रधानमन्त्री, मन्त्री तथा प्रतिपक्षको भूमिकामा रहेर प्रस्तुत गरेको कार्यसम्पादनको उच्च प्रशंसा गर्दै यस्ता अभ्यासले भविष्यका सक्षम नेतृत्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विद्यालयले बालबालिकाको समग्र विकासका लागि गरेको प्रयास उदाहरणीय र प्रेरणादायी रहेको उहाँको भनाइ राखेका थिए।
नमुना संसद सत्रमा विद्यार्थीहरूले समसामयिक विषयहरूमा प्रस्ताव पेश गर्दै पक्ष-विपक्षमा धारणा राखेका थिए। संसदको कार्यसूची, समय व्यवस्थापन, नियमावली पालना र अनुशासनका पक्षमा विद्यार्थीहरूको सक्रियता उल्लेखनीय देखिएको थियो। कार्यक्रमले नेपालको संघीय संसदको झल्को दिएको उपस्थित अभिभावक तथा अतिथिहरूले प्रतिक्रिया दिएका थिए। कार्यक्रममा विद्यालयका प्रमुख गुठियार डा. यशोधरा पन्त, निर्देशक डा. देबकान्त जोशी तथा प्राचार्य बादल प्रधान को विशेष उपस्थिति संगै संसदमा सहभागी विद्यार्थीहरूका अभिभावकहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो। अभिभावकहरूले विद्यालयले अध्ययनसँगै व्यवहारिक तथा नेतृत्वमूलक गतिविधिमा दिएको प्राथमिकताको प्रशंसा गरेका थिए।
सोही अवसरमा प्राचार्य बादल प्रधानले यस्तो प्रकारको कार्यक्रमले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले विद्यालयले आयोजना गर्दै आएको यस प्रकारको गतिविधिले विद्यार्थीहरूको नेतृत्व क्षमता, आत्मविश्वास तथा सार्वजनिक बोल्ने सीप अभिवृद्धि गर्न ठोस योगदान पुर्याउने विश्वास व्यक्त गरे। त्यसैगरी निर्देशक डा. देबकान्त जोशीले 'हामीले बाल संसद किन स्थापना गर्यौँ भने, यो पूर्ण रूपमा विद्यार्थीहरूका लागि बनाइएको अभ्यास हो। यस्तो अभ्यास हाम्रो विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ, जुन हाम्रो लागि गर्वको विषय हो,' भनी आफ्नो धारणा व्यक्त गरे।
विद्यालयका अनुसार बाल संसद कार्यक्रम विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको छ र यसले विद्यार्थीहरूमा आत्मविश्वास, सार्वजनिक बोल्ने कला, समूहकार्य तथा जिम्मेवारी बोध विकास गर्न सहयोग पुर्याएको छ। यस प्रकारका अभ्यासले विद्यार्थीहरूलाई भविष्यमा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास विद्यालयको छ। कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि श्री गौतमले विद्यालयमा यस वर्ष विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो। उक्त अवसरमा उत्कृष्ट विद्यार्थीहरूको नाम घोषणा गर्दै उनीहरूको उपलब्धिको सराहना गरिएको थियो।
समग्रमा, ३८औँ वार्षिकोत्सवको अवसरमा सम्पन्न बाल संसदको नमुना सत्रले विद्यार्थीहरूलाई वास्तविक संसदको अनुभूति गराउनुका साथै लोकतान्त्रिक अभ्यासप्रति जागरूक बनाएको सहभागीहरूको धारणा रहेको छ। विद्यालयले बिगतका दिनहरूमा पनि यस्ता रचनात्मक तथा नेतृत्व विकासमुखी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरीरहेको र आगामी दिनहरुमा पनि निरन्तर रुपमा पनि यस्ता किसिमका कार्यक्रम गर्दै जाने कुरा बिद्यालयका प्रमुख प्रसाशकिय अधिकृत तथा बिद्यालयका सुचना अधिकारि दिपक जोशीले जानकारी दिए।