शुक्रबार, माघ २३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भारतको कोइलाखानीमा विस्फोटमा हुँदा खोटाङका दुई युवाको मृत्यु, चार जना छन् घाइते

भारतको कोइलाखानीमा विस्फोटमा हुँदा खोटाङका दुई युवाको मृत्यु, चार जना छन् घाइते

 |  शुक्रबार, माघ २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०८२

खोटाङ- भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपांगी मगर र २४ वर्षीय सुरेन्द्र खपांगी मगरको घटनास्थलमै मृत्यु भएको हो।

National life

बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपांगी मगर र टङ्ककुमारी खपांगी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए। सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपांगी मगर, कर्णबहादुर खपांगी मगर, नरबहादुर खपांगी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्। 

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ। विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराएका हुन्।

दुर्घटनाका घाइते चार जनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिए। ‘दुर्घटनामा पूर्णबहादुर र सुरेन्द्रको मृत्यु भएपछि उनीहरूको शव पर्खेर बसेको छु। यहाँ कोही चिनेजानेका मानिस छैनन्। चिनेजानेका मानिस कोही नहुँदा समस्यामा छु,’ उनले भने, ‘घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगेको छ। उनीहरूको पनि अवस्था चिन्ताजनक छ। यसप्रति सम्बन्धित निकायको ध्यान जाओस्।’

दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएको छिमेकी क्षेष्ठले जानकारी दिए। मृतक मगर दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेको स्थानीयले बताएका छन्। 

Laxmi sunrise bank

रोजगारीको सिलसिलामा मेघालय पुगेका आफन्तको डेढ महिना नपुग्दै दुर्घटनामा परेर मृत्यु भएपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन्। खोटाङका विभिन्न ठाउँका स्थानीय युवा दिउँदको समयमा काम खोज्दै मेघालय जाने गरेका छन्। 

भरतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ।

मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई दुई लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्। घाइतेहरूलाई ५० हजारका दरले उपचार खर्च दिने पनि प्रधानमन्त्री मोदीले बताएका छन्।  

प्रकाशित: Feb 06, 2026| 07:36 शुक्रबार, माघ २३, २०८२
प्रतिक्रिया दिनुहोस्