बिहीबार, साउन १४, २०८३

निर्वाचनको माहोलबीच किसानलाई खेतीपातीको चटारो

 |  बिहीबार, माघ ८, २०८२

गोेपालप्रसाद बराल

गोेपालप्रसाद बराल

बिहीबार, माघ ८, २०८२

महोत्तरी- मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहौल बढ्दै जाँदा महोत्तरीका किसानलाई भने खेतीपातीको चटारो छ। आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मङ्गलबार उम्मेदवारले मनोनयन पत्र दर्ता गराइसकेका छन्।

निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम पर्वजस्तै हुने भए पनि यहाँका आमकिसान भने आफ्नै काममा व्यस्त छन्। वसन्तपञ्चमी (श्रीपञ्चमी) पर्वका लागि केशर (माटो मुनि फल्ने मधेसको फलविशेष) खनेर बजार पुर्‍याउन, उखु काटेर चिनी उद्योग लिन र वैशाखी तरकारी (चैत/वैशाखमा उत्पादन लिइने) लगाउने बेला घर्कँदै गर्दा हाल किसानलाई कामको भ्याइनभ्याइ परेको हो।

महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा वसन्तपञ्चमीका दिन गरिने सरस्वती पूजनोत्सवमा केशर मुख्य प्रसाद सामग्री मानिने परम्परा छ। केशरखेती गरिने बर्दिबास, गौशाला र भङ्गाहा नगरक्षेत्रका किसान हाल दिनरात नभनी केशर खन्ने र बजार पुर्‍याउने काममा व्यस्त छन्।

“केशोरको त सिजन नै यही श्रीपञ्चमी पर्व हो, यस बेला बेच्न सकिएन भने पछि राम्रो भाउ पाइँदैन”, करिब एक बिघा क्षेत्रफलमा यो खेती गरेका बर्दिबास–७ मनहरिपुरका किसान निरबहादुर खत्री भन्छन्, “चुनाव लाग्यो रे भन्ने त सुन्दछु , तर केशर यसैबेला बेच्नुपर्ने चटारोले चुनावको रमाइलो हेर्ने फुर्सद छैन।”

श्रीपञ्चमीपछि फुर्सदमा दुई/चार दिन चुनावको रमाइलो हेर्ने उनको धोको छ। यसपालि श्रीपञ्चमी पर्व शुक्रबार परेको छ। त्यसैले बिहीबारभित्रै केशर बजार पुर्‍याइसक्नुपर्ने हुँदा फुर्सद नै नपाइएको बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाका किसान भोला महतो बताउँछन्।

खत्री र महतोजस्तै मनहरिपुरकै ७० वर्षीय विन्देश्वर यादव पनि केशर खन्ने र बेच्ने कामको धपेडीमा छिन्। “केशर खन्न अब ढिलो गर्न हुन्न, श्रीपञ्चमीका लागि बिहीबारसम्म बजार हुन्छ, त्यसैले घरका सबै केशर खन्न जुटेका छौँ”, उनले भनिन्, “यहाँको केशर वसन्तपञ्चमी पर्वमा पूर्वको मेची पारिसम्म पुग्ने गरेको छ।”

केशोरजस्तै उखु र वैशाखी तरकारी लगाउने किसानलाई पनि कामको भ्याइनभ्याइ छ। तयार भएको उखुबाली काटेर चिनी उद्योग पुर्‍याउने र नयाँ उखु लगाउने यही बेला हो। यसले गर्दा उखु किसान धमाधम यसै काममा लागिरहेका छन्।

“चुनावको रमाइलो त हेर्न मन छ नि, तर अब काट्न ढिलो गरे उखु खेतमै सुक्छ”, गौशाला–१० बटुवाका किसान अरुण कुशवाहा भन्छन्, “यसैबेला नयाँ उखु लगाउनु पनि छ, उखु रोप्न ढिलो भए खेतको चिस्यान सुकेर नउम्रने समस्या पर्छ।” जिल्लाको उत्तरी क्षेत्रको उखु र केशर दुवै मुख्य नगदे बाली हुन्। किसानको वर्षभरिको गुजारा यिनै उत्पादन बेचेर व्यवस्थापन गर्नुपर्ने हुँदा कामको चटारो रहेको कुशवाहकको भनाइ छ।

केशर र उखुजस्तै जिल्लाका सबै भेगका किसानलाई वैशाखी तरकारी लगाउने चटारो छ। वैशाखी तरकारी पनि ढिलोमा माघ १५ भित्र रोपिसक्नु पर्ने मान्यता छ। किसान खेतीपातीमा व्यस्त भएकाले चुनावको मनोनयन दाखिला गर्ने कार्यक्रममा पनि धेरैको उत्साहजनक सहभागिता नभएको दलकै नेताहरू स्विकार्छन्।

“हामी निर्वाचन अभियानकै क्रममा किसानबिचमै छौँ”, भङ्गाहा–९ सखुवाटोलका बासिन्दा नेपाली कांग्रेसका स्थानीय नेता सुरेश यादव भन्छन्, “अहिले किसान खेतीपातीमा व्यस्त छन्, यो सकेपछि भने बिस्तारै निर्वाचन अभियानमा जोडिएलान्।”

यहाँका किसान निर्वाचनप्रति अलि उत्साह पनि मरेको बताउँछन्। आफूहरूको सुविधाप्रति तीनै तहका सरकार उदासीन रहेकाले खासै चासो नरहेको किसानको भनाइ छ। अधिकांश नेपालीका लागि कृषि मुख्य पेसा रहेकाले यसपालिको चुनावमा यससम्बन्धी विशेष सुविधाका प्रतिबद्धता दल र उम्मेदवारबाट आउनुपर्ने किसानको माग छ।   -रासस

प्रकाशित: Jan 22, 2026| 11:49 बिहीबार, माघ ८, २०८२
प्रतिक्रिया दिनुहोस्