बुधबार, जेठ २७, २०८३

सिरहामा बालिका हत्या : ३ सातासम्म पत्ता लागेन दोषी

 |  बिहीबार, पुस १०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०८२

सिरहा- सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि  प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन। दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ।

National life

गत मङ्सिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो। घटनापछि हालसम्म मुख्य अभियुक्त पत्ता नलाग्दा पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन्।

मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताइन्। उनले भनिन्, “छोरी गुमाएको पीडा त छँदै छ, तर दोषी नसमातिँदा झन् ठूलो अन्याय भएको महसुस भइरहेको छ। पहुँच भएकाहरूको कुरा तुरुन्तै सुनिन्छ, हामीजस्ताको आवाज कसैले सुन्दैन।”

स्थानीयका अनुसार बालिकाको शव अर्धनग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। यस विषयमा कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले प्रहरीको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै भने, “तीन साता बितिसक्दा दोषीको पहिचान नहुनु गम्भीर विषय हो। दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्छ।”

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले अनुसन्धान जारी रहेको बताए। यस विषयमा उनले प्रष्ट पार्दै भने, “घटनाको प्रकृति गम्भीर भएकाले विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको छ। प्रमाणका आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयासमा छौँ।”

Shivam cement

दोषी पक्राउको माग गर्दै स्थानीयले आन्दोलनसमेत गरेका थिए।

प्रकाशित: Dec 25, 2025| 07:50 बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्