बुधबार, फागुन २०, २०८२

लागूऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

 |  मंगलबार, पुस १, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०८२

काठमाडौं- प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

भारतको विहार राज्य मोतिहारी जिल्ला रक्सौल थाना–४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने १९ वर्षीय मुन्ना यादव, मोरङ कानेपोखरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने २३ वर्षीय डोरराज परियार, तनहुँ मिर्लुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने ३४ वर्षीय कृष्ण भण्डारी पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 
    
उनले भने, “काठमाडौँ कुलेश्वरमा लागुऔषध बिक्रीवितरण भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा निजहरूलाई हाम्रो टोलीले पक्राउ गरेको हो।” पक्राउ परेका परियारसहितलाई प्रारम्भिक अनुसन्धान गर्दा भारतको रक्सौल हुँदै काठमाडौँसम्म लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गर्दै आएका पाइएको जनाउँदै उनले यस कार्यको योजनाकार भारतीय नागरिक यादव रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाको साथबाट डायजेपाम इन्जेक्सन दुई हजार ३९५ थान, प्रोमेथाजिन हाइड्रोकोराइड इन्जेक्सन दुई हजार ३०० थान, बुप्रेनोर्फिन इन्जेक्सन दुई हजार १५६ थान, ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल (५० मिलिग्राम) दुई हजार ७०० थान तथा मोबाइल फोन १० थान बरामद गरिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए। 

पक्राउ परेका तीनै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता आचार्यले बताए।

प्रकाशित: Dec 16, 2025| 07:25 मंगलबार, पुस १, २०८२
प्रतिक्रिया दिनुहोस्