काठमाडौं । इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेइनले विश्वविद्यालयभित्रका समस्या समाधान नगर्ने हो भने समाजका अन्य समस्या पनि समाधान नहुने बताएका छन्।
विश्व शान्ति कार्यक्रमको दोस्रो दिन लुम्बिनी बौद्ध विश्वविद्यालयको हलमा 'फाउण्डेशन अफ द फ्युचरस् जस्टिस् इन्स्टिच्युसन् एण्ड द पाष्ट प्रस्पेरी' नामक बहस सत्रमा लेइनले यसो भनेका हुन्।
'विश्वविद्यालयभित्रका समस्याका चुनौती समाधान गर्ने माध्यम पनि विश्वविद्यालयहरू नै हुनु,' उनले भने, 'विश्वविद्यालयका अनेक समस्या छन्। राजनीतिक भर्ती केन्द्र बनेका छन्, गतिशीलता हराइरहेको छ, नयाँ अनुसन्धान कम उत्पादन भइरहेको छ। यस्ता थुप्रै समस्या बढिरहेका कारण नै विश्वविद्यालयहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनन्।'
सबैभन्दा पहिला विश्वविद्यालयहरू स्वतन्त्र र स्वशासित हुनुपर्ने उनको भनाइ थियो। 'कुनै पनि राजनीतिक शक्तिमा निर्भर हुनुहुँदैन। तर, धेरै विकासशील देशहरूमा यही समस्या देखिन्छ,' पूर्वप्रधानमन्त्री ताम्रतले भने, 'विश्वविद्यालयभित्र नै समस्या छ, समाज वा अन्य बाह्य पक्षहरूमा होइन।'
छलफलकै क्रममा ताम्रतले विश्वविद्यालयहरू पूर्ण शैक्षिक स्वतन्त्र र राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने दोहोर्याए।
विश्वविद्यालयभित्र स्वतन्त्र विचारलाई प्रोत्साहन दिँदै अनुसन्धानका काम स्वतन्त्र रूपमा अगाडि बढ्नुपर्नेमा वास्तविकता त्योभन्दा फरक रहेको उनले बताए। धेरैजसो विश्वविद्यालय राजनीतिक शक्तिमा निर्भर रहेको भन्दै उनले धनी व्यक्ति वा समूहहरूले पनि आफ्नै हितका लागि प्रयोग गर्न सक्ने जोखिम रहेको औंल्याए।
साथै उनले विश्वविद्यालयका अवस्थालाई सुधार्न मिडियाको बलियो खबरदारी खट्किएको बताए। विश्वविद्यालयमा मात्र नभएर सबै क्षेत्रमा शान्ति सिर्जना गर्न मिडियाको महत्वपूर्ण भूमिका रहेको थियो र रहन सक्छ।
राजनीतिक शक्तिहरु राज्यप्रति जवाफदेही हुन नचाहेकोले विश्वविद्यालयहरू कमजोर हुँदै गएको पनि बताए। 'देशको कानुन भन्दा माथि कोही हुँदैन,' उनले भने, 'कुनै पनि देशको कमजोरी भनेको कमजोर न्याय प्रणाली हो।
विश्व शान्ति सम्मेलनमा भाग लिन आएका पूर्वप्रधानमन्त्री लेनले बहस सत्र अघि लुम्बिनी विकास गुरुयोजना, लुम्बिनीमा भएको उत्खनन्, संरक्षण प्रयास, लुम्बिनीको पुरातात्विकको ऐतिहासिक महत्वबारे चासो राख्नुका साथै मायादेवी मन्दिर भ्रमण गरेका थिए।