मंगलबार, मंसिर १६, २०८२

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो

 |  मंगलबार, मंसिर १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०८२

मुस्ताङ- हिउँदयामको अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित बनेका छन्। चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याएको पाइएको छ।

National life

प्रादेशिक अस्पताल जोमसोममा पछिल्लो समय चिसोका कारण रुघाखोकी, निमोनियालगायत समस्याका बिरामी भर्ना हुने क्रम बढेको अस्पतालले जनाएको छ। हिउँदयाममा चिसोबाट जोगिन विशेष सावधानीका उपाय अपनाउन नसक्दा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलले बताइन्। उनका अनुसार अस्पतालमा भर्ना भएर सेवा लिनेमध्ये ८० प्रतिशतभन्दा बढी बालबालिका छन्।

अस्पतालबाट चालु आवको साउनमा ७४९, भदौमा ६०९, असोजमा ५७० र कात्तिकमा ४८८ जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन्। साउनमा १८, भदौमा ३७, असोजमा ३७ र कात्तिकमा ४८ जनाले अस्पताल भर्ना भई स्वास्थ्य सेवा लिएका डा. कँडेलले उल्लेख गरिन्। उनका अनुसार मंसिर १५ गतेसम्ममा २८ जना बिरामीले भर्ना भई सेवा लिइसकेका छन्।

१५ श्ययाको प्रादेशिक अस्पतालमा चिसोका कारण बिरामीको संख्या दिनहुँ वृद्धि भइरहँदा प्रभावकारी उपचारमा समस्या हुनुका साथै श्यया अभाव भएको उनको भनाइ छ।

बालबालिकामा रुघाखोकी लाग्ने, स्वाशप्रश्वासमा समस्या, स्वाँस्वाँ हुने, छाती घ्यारघ्यार हुने, ज्वरो आउनेलगायत समस्या देखिन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कँडेलले जानकारी दिइन्। अधिकांश रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या लिएर आउनेमध्ये ८० प्रतिशत जति १० वर्ष मुनिका बालबालिका रहेका उनले उल्लेख गरिन्।

Laxmi sunrise bank
kumari

रुघाखोकी र निमोनियाका लक्षण देखिएमा तुरुन्तै अस्पताल वा नजिकैको स्वास्थ्य संस्थामा जचाउँनुपर्ने डा. कँडलले सुझाव दिइन्। चालु आवको साउनदेखि मङ्सिर दोस्रो सातासम्मको तथ्यांक अनुसार बिरामी भई अस्पताल भर्ना हुने बालबालिका करिब ७० प्रतिशतले वृद्धि भएको अस्पतालले जनाएको छ।

चिसोबाट सुरक्षित रहन दाउरा वा कोइला बाल्दा, गिजर, हिटरलगायत उपकरण प्रयोग गर्दा हावा छिर्ने गरी ‘भेन्टिलेसन’ खुला गर्नुपर्ने डा. कँडेलले जनाइन्। साथै तातोपानी पिउने, झोलिलो र पोषणयुक्त खानपान गर्नेलगायत आवश्यक सावधानी अपनाउनुपर्नेमा डा कँडेलले जोड दिइन्।

यसैबीच, अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसी झरिसकेका छन्। यहाँका बालबालिकालाई चिसोबाट जोगाउन सुरक्षित स्थान खोज्दै बेँसी झारिएको जनाइएको छ। यहाँका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था भने सञ्चालनमा छन्।

प्रकाशित: Dec 02, 2025| 08:56 मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्