आइतबार, कात्तिक २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चितवनमा दुर्घटनामा वृद्धि, साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए

चितवनमा दुर्घटनामा वृद्धि, साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए

 |  सोमबार, मंसिर ८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०८२

चितवन- गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन्। यसमध्ये २१ पुरुष छ जना महिला र बालबालिका दुई जना रहेका छन्।

Machhapuchchhre

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा भएका दुई सय २४ दुर्घटनामा उनीहरूको ज्यान गएको हो। यस्तै ती दुर्घटनामा परी चार सय ५६ जना घाइते भएका छन्। यसरी दुर्घटनामा पर्नेमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन छन्।

उनका अनुसार चार महिनामा भएको सवारी दुर्घटनामा तीन सय ३३ वटा सवारीसाधन परेका छन्। तीमध्ये दुई सय एक मोटरसाइकल छन्। यस्तै जिप, कार ३४, शारीरिक शक्तिले चल्ने ३० , ट्रक, ट्यांकर २४, बस १५, टेम्पो १४ रहेका छन्। यस्तै टिपर दुई, माइक्रो बस पाँच, ट्याक्टर चार र अन्य सवारीसाधन चार छन्।

गत आवको सोही अवधिमा दुई सय पाँच वटा सवारी दुर्घटना भएको थियो। गत वर्षको तुलनामा यस वर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भएको छ। गत वर्ष सोही अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने चार सय १४ जना घाइते भएका थिए।

दुर्घटना न्यूनीकरणका लागि जिल्लामा छड्के जाँच, जनचेतना जगाउने कार्यक्रम गरिरहेको थापाले बताए। फराकिला सडकमा तीव्र गतिमा सवारी चलाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा अहिले दुर्घटना बढेको उनले बताए। सडकअनुसार सवारी चाप बढी हुनु र ट्राफिक नियमको पालना नगर्नुले पनि दुर्घटना बढेको उनले जानकारी दिए।

प्रकाशित: Nov 24, 2025| 23:59 सोमबार, मंसिर ८, २०८२