शुक्रबार, साउन १५, २०८३

बर्खे धानको समर्थन मूल्य नपाएको किसानको गुनासो

 |  बिहीबार, मंसिर ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०८२

चितवन- यहाँका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन्। वाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ।

प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य रु तीन हजार ४६३ र मध्यमको रु तीन हजार ६२८ प्रतिक्विन्टल तोकेको भए पनि यहाँका किसानले निर्धारित मूल्यअनुसार धान बिक्री नभएको बताएका छन्। माडी नगरपालिका–३ का किसान ओमप्रकाश महतो अहिले आफूहरुले प्रतिक्विन्टल मोटा धान रु दुई हजार ६०० र मध्यम धानको रु तीन हजार १०० मा बिक्री गर्नुपरेको गुनासो गरे। 

भरतपुर महानगरपालिका–९ शरदपुरका किसान वेदप्रकाश सापकोटा व्यवसायीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए। आफ्नो गोदाम नहुँदा किसानले व्यापारीले भनेको मूल्यमा धानम बेच्नु परेको गुनासो सुनाउँदै भने, ‘मोटा धान रु तीन हजार र मध्यम धान रु तीन हजार ४०० मा बिक्री गर्नुपर्ने बाध्यता छ।’

जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेल पनि किसानले समर्थन मूल्य नपाएका बताउँछन्। राज्यले तोकेको मूल्यमा व्यवसायीले धान खरिद गर्नुपर्नेमा उनले जोड दिए। 

चितवनमा २७ हजार ३२४ हेक्टरमा बर्खे धानखेती गरिएकामा एक लाख ३५ हजार ७२५ मेट्रिक टन उत्पादन भएको छ। बेमौसमी वर्षाका कारण १४९ मेट्रिक टन धानमा क्षति भएको छ।

प्रकाशित: Nov 20, 2025| 11:22 बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्