शुक्रबार, साउन १५, २०८३

जापनिज इन्सेफ्लाइटिस संक्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

 |  शुक्रबार, असोज २४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २४, २०८२

काठमाडौं- यस वर्ष नेपालमा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट ३१ जनाको मृत्यु भएको छ। बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार, यो विगत १० वर्षमा सबैभन्दा धेरै मृत्यु हो।

सन् २०२४ मा २५, २०२३ मा सात र २०१७ मा एक जनाको मात्र मृत्यु भएको थियो भने २०१८–२०२२ मा यस रोगबाट कोही मरेको थिएन। मृत्यु हुनेमध्ये अधिकांश ४० वर्षभन्दा माथिका, खोप नलगाएका व्यक्ति रहेका छन्।

यस वर्ष १६४ जनामा सङ्क्रमण देखिएको छ, जुन गत वर्षको ८६ जनाभन्दा बढी हो। जापनिज इन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिसकेको छ।

डा. गौतमका अनुसार, रोग बढ्ने कारण लामखुट्टे सक्रिय हुनु वा सुँगुर तथा हाँसको पालन हुन सक्ने अध्ययन भइरहेको छ। यस वर्ष कोशी प्रदेशमा चार, मधेसमा तीन, बागमती र गण्डकीमा पाँच–पाँच, लुम्बिनीमा ११, कर्णालीमा एक र सुदूरपश्चिममा दुई जनाको मृत्यु भएको छ।

देशभर २८ जिल्ला उच्च जोखिममा रहेका छन्। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ। नेपालमा ८२ प्रतिशत बालबालिकाले जापानिज इन्सेफ्लाइटिसको खोप लगाइसकेका छन्।

नेपालमा सन् १९९८ देखि पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप दिइँदै आएको छ।

प्रकाशित: Oct 10, 2025| 13:46 शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्