सोमबार, असोज १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • 'ट्राभल एड्‌भाइजरी' खुकुलो बनाइदिन दूतावासहरूलाई पर्यटन बोर्डको आग्रह

'ट्राभल एड्‌भाइजरी' खुकुलो बनाइदिन दूतावासहरूलाई पर्यटन बोर्डको आग्रह

 |  शनिबार, असोज ११, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, असोज ११, २०८२

काठमाडौं- नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाइदिन आग्रह गरेको छ। दशैंको अवसरमामा काठमाडौंमा बिहीबार बेलुका आयोजित ‘मिट एण्ड ग्रीट विथ डिप्लोम्याटिक कोर्प्स’ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले नेपाल अहिले सामान्य अवस्थामा फर्किएको र पर्यटक भ्रमणका लागि पूर्ण सुरक्षित रहेको स्पष्ट पारेका हुन्। यसअघि भदौ २४ र २५ गते भएको जेनजी आन्दोलनपछि नेपालस्थित विदेशी राजदूतावास तथा कूटनीतिक नियोगहरुले आफ्नो देशका यात्रुका लागि नेपाल भ्रमणबारे सचेत रहन भन्दै ट्राभल एड्भाइजरी जारी गरेका थिए।

Kumaribank

हालैको जेनजी आन्दोलनले सिर्जना गरेको अस्थिरताबाट पर्यटन उद्योगमा देखिएको संकट छिट्टै सामान्य अवस्थामा आइसकेको उल्लेख गर्दै सीईओ जोशीले भने, “राजनीतिक स्थायित्व, सुरक्षा,सहज यातायात पहुँच, स्वास्थ्य सेवाको पहुँचजस्ता पक्षमा नेपाल अहिले पूर्ण रूपमा सामान्य भइसकेको छ।”

उनका अनुसार भदौ २४ र २५ गतेको अस्थिरतापछि सेनाले तत्काल स्थिति नियन्त्रणमा लिएको र नयाँ सरकार गठन भइसकेको अवस्थामा राजनीतिक स्थायित्वमा कुनै समस्या नरहेको, सुरक्षा निकाय र पर्यटक प्रहरीहरू पुनः सामान्य सेवामा फर्किसकेका छन्। साथै, सडक, विमानस्थल र यातायात संरचना तत्काल सञ्चालनमा आएका छन् भने अस्पताल र स्वास्थ्य सेवा पनि सामान्य अवस्थामा फर्किएको राजदूतहरुलाई उहाँले जानकारी गराएका हुन्।

कार्यक्रममा सहभागी राजदूत र प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सीईओ जोशीले थपे, “नेपाल संसारकै अद्वितीय प्राकृतिक र सांस्कृतिक गन्तव्य हो। तपाईंहरूको सहयोग र सन्देशले अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक प्रभाव पार्नेछ। हामी संयुक्त रूपमा नेपाललाई अझै विश्वकै आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सक्छौं।”

सीईओ जोशीले जेनजी आन्दोलनका क्रममा २५ होटलमा आंशिक भौतिक क्षति पुगेको र करिब २,००० भन्दा बढी रोजगार प्रभावित भएकोसमेत जानकारी गराएका छन्। उनले पर्यटन उद्योगको ‘रिजिलिएन्स’ (संकट सहने क्षमता)लाई उच्च मूल्यांकन गर्दै भने,“नेपालको पर्यटन उद्योग दशकौँदेखि अन्तर्राष्ट्रिय संकट व्यवस्थापनमा परिपक्व छ। यसबीच कुनै पनि पर्यटकलाई लक्षित आक्रमण भएको छैन, आगामी दिनहरूमा पनि पर्यटन सुरक्षित रहन्छ भन्ने विश्वास दिलाउन चाहन्छु।”

Metro Mart

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपाल अहिले पूर्ण रूपमा भ्रमण–योग्य रहेको सन्देश आफ्ना देशमा पुर्‍याउन दूतावासका प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। उनले भने, “नेपालको संस्कृति, सम्पदा र आतिथ्यका साथ हामी पर्यटक स्वागतका लागि तयार छौं। तपाईँहरूले आफ्ना सरकार र पर्यटकहरुमा ‘नेपाल खुला र सुरक्षित छ’ भन्ने सन्देश पुर्‍याइदिनुहोस्।”

विश्‍व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा संयुक्त राज्य अमेरिका, भारत, इजिप्ट, नर्वे, कतार, मलेसिया, पाकिस्तानलगायत १५ देशका राजदूत र प्रतिनिधिहरूको सहभागिता थियो। जसमा परराष्ट्र, पर्यटन, वन तथा वातावरण मन्त्रालय, अध्यागमन विभाग र पर्यटन उद्योगीहरुको सहभागिता रहेको थियो।

सीईओ जोशीले दशैं, तिहार र नेपाल संवतजस्ता चाड–पर्वले नेपाललाई ‘मिलन र पुनर्जीवनको उत्सव’को रुपमा प्रस्तुत गरेका हुन्। सीईओ जोशीले पर्यटनले केवल अर्थतन्त्रमा योगदान गर्ने मात्र नभई, जन–जनबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने र नेपाल भ्रमणले मैत्री र कूटनीतिक सम्बन्ध थप बलियो हुनेसमेत उल्लेख गरे। उनले नेपालको पर्यटन पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न निरन्तर सहकार्यका लागि तयार रहेको समेत राजदूतहरुलाई बताएका हुन्।

प्रकाशित: Sep 27, 2025| 10:52 शनिबार, असोज ११, २०८२
प्रतिक्रिया दिनुहोस्