शुक्रबार, जेठ २९, २०८३

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

 |  शुक्रबार, असोज १०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १०, २०८२

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ। सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो।

National life

भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ। काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको हो। बुद्ध यएर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार अहिले १०० भन्दा बढी यात्रुको सङ्ख्या थपिएको छ।

उनले भने, “सामान्य अवस्थामा ३०० देखि ३५० यात्रुले हवाई यात्रा गर्ने गरेको भए पनि अहिले ४६० हाराहारी पुगेका छन्।” अन्य समयमाभन्दा चाडपर्वमा यात्रुको चाप बढ्ने भए पनि स्थल मार्ग पहिरोले जोखिम बन्दा चाप बढेको  उनको भनाई छ।

काठमाडौँबाट आउने र काठमाडौँ जाने दुवैको चाप बढेको उनले जानकारी दिए। पहिला काठमाडौँबाट आउने यात्रुको चाप बढ्ने गरे पनि अहिले दुवैतर्फ बढेको उनले बताए। दसैँ नजिकिएकाले पनि यात्रुको चाप बढेको हो।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला लगायका ठाउँ र पृथ्वी राजमार्गको धादिङ क्षेत्रमा पहिरोको जोखिम भएसँगै यात्रुको चाप बढेको उनको भनाई छ। बिहान ८ः०० देखि अपराह्न ३ः३५ बजेसम्ममा अहिले दैनिक १० उडान भर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए। 

Shivam cement

भरतपुर–पोखरा एउटा उडान र भरतपुर–काठमाडौँ नौ उडान भरिँदै आएको उनले बताए। बस्नेतका अनुसार एयर ट्राफिकका कारण समस्या हुने भएकाले थप उडान गर्न सकिएको छैन्। उडान थप हुँदासमेत यात्रुले सहज टिकट पाउने अवस्था छैन।

रात्रिकालीन उडान नहुँदा हवाई यात्रा गर्ने यात्रुलाई समयको परिधिमा गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ। उनले भने, “धावन मार्ग छोटो हुँदा र रात्रिकालीन उडान नहुँदा मागअनुसारको उडान गर्न सकेका छैनौँ।” यहाँबाट बुद्ध एयरले मात्र उडान भर्दै आएको छ।  

विमानस्थल प्रमुख दीपक विकेका अनुसार सामान्य अवस्थाभन्दा अहिले हवाई यात्रा गर्नेको चाप बढेको छ। पहिरो र चाडपर्वका कारण यात्रुको चाप बढेको उनले बताए। यहाँ हुँदै चितवनसहित मकवानपुर, नवलपरासीका यात्रु आउने जाने गर्दछन्।    रासस

प्रकाशित: Sep 26, 2025| 13:54 शुक्रबार, असोज १०, २०८२
प्रतिक्रिया दिनुहोस्