शनिबार, असोज ३, २०८३

तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुलेन

 |  शुक्रबार, भदौ २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २७, २०८२

तनहुँ- तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन्। सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा एक वृद्धाको शव फेलापरेको छ। नदी किनारमा अन्दाजी ५५–६० वर्षीया वृद्धाको शव फेलापरेको हो।

स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्कासमेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ। शवको सनाखत गर्ने कार्यका लागि घरपरिवार तथा आफन्तका बारेमा स्थानीयवासीसँग बुझ्दा केही विवरण खुलेको छैन।

त्यसैगरी, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा एक महिलाको शव फेलापरेको छ। डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०–३५ वर्षीया महिलाको शव फेलापरेको हो। पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि अस्पातलमा राखिएको र सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो।

प्रकाशित: Sep 12, 2025| 07:38 शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्