दाङ- दाङमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान ६:०० बजे आसपासमा चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपर र प्यूठानबाट चन्द्रौटा जाँदै गरेको लु३९प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्यूठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षे सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए। थापाको भालुबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षे प्रचण्ड थापा भने घाइते भएको प्रहरीको भनाइ छ। हाल उनको भालुबाङ अस्पतालमा सामान्य उपचारपछि बुटवल पठाइएको प्रहरी निरीक्षक बमले बताए।
मृतकको शव परीक्षणका लागि लमही अस्पताल पठाइएको छ भने टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।