रामेछाप। रामेछापमा सार्वजनिक सेवा प्रदायक निकायले प्रवाह गर्ने सूचना अझै प्रभावकारी र व्यवस्थित हुन नसकेको सरोकारवालाले बताएका छन्।
सूचना दिवसको अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासंघको समन्वय तथा जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनमा भएको कार्यालय प्रमुख, पत्रकार र नागरिक समाज बिचको अन्तरक्रियामा सहभागी पत्रकार तथा नागरिक अगुवाहरूले सेवा प्रदायक कार्यालयले नियमित प्रवाह गर्नै पर्ने सूचना पनि नियमित सार्वजनिक नगरेको गुनासो गरे।
कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले जिल्लाका कतिपय सरकारी कार्यालयहरूले समेत नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सूचना सार्वजनिक नगरेको बताए।
लोकतन्त्रको प्राणवायु नै सूचनाको हक भएकोले लोकतन्त्रलाई सुदृढ बनाउन सूचनामा सहज पहुँच स्थापना गर्नुपर्नेमा उनले जोड दिए।
गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले निर्माण आयोजनाहरूमा आयोजना बोर्ड समेत नराखी काम हुने गरेको बताए। यसले ती आयोजना कसको कति लागतमा कसरी बनाइरहेको छ भन्ने बारेमा समेत नागरिकलाई थाहा नहुने बताए।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेले सूचना जति सहज रूपमा दियो त्यति नै पारदर्शिता बढ्ने र अविश्वासको पर्खाल हट्दै जाने बताए। सूचना जति लुकायो त्यति नै कौतुहलता बढ्ने र त्यसबाट अविश्वासको वातावरण बन्दै जाने उनले बताए। कानुनी रूपमा पनि सूचना पाउनु नागरिकको अधिकार भएको तर्फ उनले ध्यानाकर्षण गराए।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सूचना पाउनु नागरिकको अधिकार भएकाले कानुन अनुसार सूचना प्रवाह गर्न सरकारी कार्यालय र अन्य सेवा प्रदायक निकायलाई निर्देशन दिए।
उनले पुनः सूचना सहज पाइएन भन्ने गुनासो आएमा राम्रो नहुने चेतावनी दिए। ‘थापाले नागरिकले सूचना पाएनौँ भनेर गुनासो गर्नुहुन्छ, यो असाध्यै राम्रो भएन’, उनले भने।