म्याग्दी । यहाँको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छभने पाँचजना घाइते भएका छन्।
आज दिउँसो आयोजनाको बाँधस्थल झिँ र दग्नामको सीमा क्षेत्रमा पहिरो जाँदा ढुंगा लागेर आयोजनामा कार्यरत मजदुर लालबहादुर सुनार र सुजन बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।
उनकाअनुसार, पाँचजना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम लैजाने तयारी गरिएको छ। घटनास्थलमा मौवाफाँट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीसहित आयोजनाका अन्य मजदुरले घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले रघुगङ्गा जलविद्युत आयोजना निर्माण गरिरहेको छ।