बुधबार, पुस १६, २०८२

प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक छ : स्वास्थ्यमन्त्री पौडेल

 |  बुधबार, साउन २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०८२

भक्तपुर । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मागअनुसारको आवश्यकतालाई वृद्धि गर्न अङ्ग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताएका छन्।

National life

विश्व अङ्गदान दिवसका अवसरमा आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा आवश्यकताको २० प्रतिशत पनि अङ्गदान हुन नसकेकाले नीतिनियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताए। 

स्वास्थ्यमन्त्री पौडेलले भने, 'बिमासँग विपन्नवर्ग जोडियो भने प्रत्यारोपण सुविधा रु नौ लाखसम्म पुग्छ। त्यसैले बिमामार्फत जटिल रोगको उपचारमा राज्यले सुविधा थप्दै जाने र अङ्गदान गर्नेलाई निःशुल्क बिमा गर्ने व्यवस्था आवश्यक छ। यसका लागि लागिरहेका छौँ।'

अङ्ग प्रत्यारोपणको छुट्टै प्रतिष्ठान बनाउनुपर्ने आवश्यकता रहेको औँल्याउँदै उहाँले सबै सङ्घीय अस्पतालको क्षमता तीनगुणा बढाएर सबैलाई कम्तीमा ५०० श्यया बनाउनुपर्ने र दक्ष जनशक्ति, उपकरण एवं पूर्वाधारको व्यवस्था गर्ने प्रयास गरिरहेको बताए।

क्यान्सरकोसमेत छुट्टै प्रतिष्ठान बनाउनुपर्छ भन्दै मन्त्री पौडेलले विभिन्न अस्पतालमा क्यान्सर परीक्षणका लागि आवश्यकपर्ने पेट सिटीस्क्यान मेसिन विस्तार गर्दै लगिने बताए। 

Laxmi sunrise bank

मन्त्री पौडेलले जनस्वास्थ्य नियमावलीमा टेकेर आइभिएफको निर्देशिका जारी हुन लागेको बताउँदै भारतमा खुलेआम अङ्ग बेचबिखन भएपछि भारतले कडाइ गरेको अवस्थामा नेपालमा पनि अङ्गदानका क्षेत्रमा चेतना विस्तार गर्नुपर्ने आवश्यकता भएको बताए। 

मन्त्री पौडेलले मस्तिष्क मृत्युपछि गरिने अंगदानलाई प्रोत्साहन गर्न खोजिरहेको बताउँदै अंगदानले धेरैको ज्यान बचाउन सघाउ पुर्‍याउने हुँदा यसबारे जनतालाई सचेत बनाउनुपर्ने बताए।

प्रत्यारोपण सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने योजना रहेको बताउँदै उनले विशिष्टिकृत उपचारलाई काठमाडौं उपत्यका बाहिर विस्तार गर्दै लाने नीति मन्त्रालयले लिएको बताए।

कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अगाडि सार्नुपर्ने बताए।

प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले भक्तपुरको प्रत्यारोपण केन्द्रमा बिरामीको चाप बढेसँगै श्यया अभाव र सेवा विस्तारले ठाउँ अभाव भएको हुँदा अस्पताललाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदान र प्रत्यारोपण गर्ने ऐतिहासिक कार्यको सुरूआत हुनु नै स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताउँदै नेपालमै मिर्गाैला र कलेजो प्रत्यारोपणले राज्यको अर्बौं रूपैयाँ विदेशिनबाट जोगिएको बताए। 

अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमा कलेजो र मिर्गाैला प्रत्यारोपण सेवाको सुरूआत भएसँगै बिरामीलाई आर्थिक तथा मानसिक रूपमा धेरै सहज भएको बताउँदै प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको बताए।

कार्यक्रममा प्र्रत्यारोपणका संयोजक डा कल्पनाकुमारी श्रेष्ठ, मस्तिष्क मृत्युबाट प्राप्त व्यक्तिको अङ्गदानबाट नयाँ जीवन पाएका शिव महर्जनले अङ्गदान र जीवनबारे अनुभव सुनाएका थिए।

प्रकाशित: Aug 13, 2025| 19:38 बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्