मंगलबार, पुस १५, २०८२

एउटै पालिकाका २ हजार ४३८ घर बाढीपहिरोको जोखिममा

 |  शुक्रबार, साउन २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०८२

ढोरपाटन- बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन्। भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन्।

National life

सात वटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी वडा नं १ बाढीपहिरोको जोखिममा परेको छ। यस वडामा मात्रै नौ सय २० घर पहिरोको जोखिममा परेका छन् भने हुल्दी, लेबाङ किटेनी, स्वाँरालगायत बस्ती पहिरोको जोखिममा परेका गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए।

विसं २०७४ यता गाउँमा धेरै पहिरो जाने गरेको स्थानीय बताउँछन्। गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नं २ मा दुई सय सात, वडा नं ३ मा एक सय ४०, वडा नं ४ मा चार सय, वडा नं ५ मा एक सय ७०, वडा नं ६ मा ३१ र वडा नं ७ मा पाँच सय ७० घर पहिरोको जोखिममा छन्।

पहिरोले गाउँनै चिराचिरा परेपछि बर्खाको समय जोखिम मोलेर बस्नु परेको निसीखोला–१ हुल्दीकी हुमकुमारी मल्लले बताइन्। गाउँको बीचमा एउटा ठूलो पहिरो रहेको भन्दै उक्त पहिरो दशकौँ अगाडिदेखि निरन्तर बग्ने गरेको उनको भनाइ छ। आठ वर्ष अगाडिसम्म उक्त पहिरोले गाउँमा ठूलो क्षति नपुर्‍याएको बताउँदै विसं २०७५ देखि त्यसको असले गर्दा गाउँका विभिन्न स्थानमा जमिन भासिने र चिरिने गरेको मल्लले जानकारी दिइन्।

“हामीहरू पहिरोका कारण ज्यान कसरी बचाउने भन्ने चिन्तामा छौँ, हिउँदको समय घरमा सुखले बस्छौँ, बर्खाको समयमा ठूलो वर्षा हुने वित्तिकै गाउँ छोडेर भाग्नुपर्छ”, मल्लले भने – “गाउँभन्दामाथि दह भन्ने छ, त्यहाँ गाईभैँसी गोठ छन्, त्यही गएर बस्ने गर्छौँ, गाउँपालिकामा धेरै पटक समस्याबारे जानकारी गरायौँ, केन्द्र र प्रदेश सरकारलाई पनि जानकारी गराएका छौँ, अहिलेसम्म हाम्रो समस्या समाधानका लागि कुनै सम्बोधन भएको छैन।”

Laxmi sunrise bank
kumari

निसीखोला–२ का पदमबहादुर विकले गाउँमा बाहेक अरु ठाउँमा जग्गा जमिन नहुँदा जोखिममा बस्नु परेको बताए। ठूलो पानी पर्‍यो भने सबै सरसामान बोकेर घर बाहिर निस्कने गरेको उनको भनाइ छ। हुने खाने बसाइँसराइ सरेर तराईतिर झरेका भन्दै उनले आर्थिक अवस्था कमजोर भएका गाउँमै बसेका बताए। सरोकार भएका निकायलाई गाउँको समस्याका बारेमा पटकपटक जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको उनले गुनासो पोखे।

निसीखोला गाउँपालिकाका अध्यक्ष मगरले जोखिममा रहेका बस्ती स्थान्तरणका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिरहेको बताए। जनता आवास कार्यक्रमअन्तर्गत केही नागरिकलाई सुरक्षित स्थानमा सारेर घर निर्माण गरिएको उनले जानकारी दिए।

अप्ठ्यारो भूगोलका कारण हरेक वर्ष बाढीपहिरोबाट यहाँका नागरिकले दुःख पाउँदै आएका उल्लेख गर्दै अध्यक्ष मगरले त्यसको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले योजना बनाइरहेको बताए। -रासस

प्रकाशित: Aug 08, 2025| 06:01 शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्